बालेन नेतृत्वको सरकार पाँच वर्ष टिक्दैन : केपी ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको वर्तमान सरकार पाँच वर्षसम्म टिक्न नसक्ने दाबी गरेका छन्।
शनिबार भक्तपुरको नगरकोटमा आयोजित एमालेको ‘जनसंगठन समन्वय संयन्त्र कार्यशाला’लाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकार विदेशी शक्तिको आडमा चलेको आरोप लगाए। सरकार जुनसुकै शक्तिको समर्थनमा चले पनि एमाले नडराउने उनको भनाइ थियो।
ओलीले वर्तमान सरकारले हतारमा र जनतालाई त्रसित बनाएर बहुमत प्राप्त गरेको आरोपसमेत लगाए। उनले निर्वाचनमा बहुमत आएको देखिए पनि सरकार पाँच वर्ष सञ्चालन हुन नसक्ने दाबी गरे।
उनले भने, ‘हाटहुट, लाटलुट, जनतालाई तर्साएर, थर्काएर, बोल्न नसक्ने बनाएर, जेसुकै गरेर, बाकस साटेर ल्याएर बहुमत ल्याएको देखाइयो। यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन।’
ओलीले वर्तमान अवस्थामा संविधान मिचिएको र लोकतन्त्र अपहरणमा परेको आरोप लगाउँदै लोकतन्त्र पुनःस्थापनाका लागि एमाले सक्रिय हुने बताए।
उनले सरकार र समर्थकहरूले समाजमा त्रासको वातावरण सिर्जना गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा सरकारको आलोचना गर्नेहरूमाथि समूह बनाएर आक्रमण गर्ने प्रवृत्ति बढेको दाबी गरे। यस्ता गतिविधिबाट एमाले नडराउने र संविधान तथा लोकतन्त्रको रक्षाका लागि पार्टी अघि बढ्ने उनको भनाइ थियो।
प्रतिक्रिया