भदौ ०८ २०८३, सोमबार

राजतन्त्र र हिन्दुराष्ट्र हामीले उन्मूलन गरेका हौँ : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेपालबाट राजतन्त्र र हिन्दुराष्ट्रको व्यवस्था आफूहरूले नै उन्मूलन गरेको बताएका छन्।

खनालले नेपाललाई पुनः धार्मिक राज्य बनाउने प्रयास घातक हुने चेतावनी दिँदै धर्म व्यक्तिको व्यक्तिगत आस्थाको विषय भएकाले राज्य कुनै एक धर्मको पक्षमा उभिन नहुने धारणा राखेका छन्।

उनका अनुसार नेपाल बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले कुनै एउटा धर्मको आधारमा राज्य निर्माण गर्नु उचित हुँदैन। नेपालमा हिन्दु, बौद्ध, किराँतलगायत विभिन्न धार्मिक समुदायको आस्था र विश्वास रहेको उल्लेख गर्दै उनले सबै धर्मप्रति राज्य समान रूपमा तटस्थ रहनुपर्ने बताए।

‘धर्म भनेको मान्छेको व्यक्तिगत आस्थाको कुरा हो। यो देशमा हिन्दु धर्म मान्ने पनि छौँ, बुद्ध धर्म मान्ने पनि छौँ, किराँत धर्म मान्ने पनि छौँ,’ खनालले भने, ‘त्यसैले ती धर्महरूको आधारमा राज्य बन्दैन, बनाउन हुँदैन।’

May be an image of text

राज्य कुनै एक धर्मको पक्षमा उभिँदा समाजमा द्वन्द्व सिर्जना हुन सक्ने उनको भनाइ छ। धार्मिक आधारमा राज्य सञ्चालन गर्दा सामाजिक संरचनामै असर पर्न सक्ने भन्दै उनले धर्मनिरपेक्ष राज्यको अवधारणालाई कमजोर पार्न नहुने बताए।

‘राज्य नै एउटा धर्मको पक्षमा लाग्यो भने के हुन्छ ? कुनै पनि बेला जे पनि हुन सक्छ,’ खनालले भने।

नेपालमा पछिल्लो समय राजसंस्था पुनःस्थापना र हिन्दुराष्ट्रको पक्षमा विभिन्न राजनीतिक तथा सामाजिक समूहले आवाज उठाइरहेका बेला खनालको यस्तो अभिव्यक्ति आएको हो। उनले भने राजतन्त्र र हिन्दुराष्ट्रको अन्त्य नेपाली राजनीतिक परिवर्तनको महत्वपूर्ण उपलब्धि भएको दाबी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार