भदौ ०८ २०८३, सोमबार

रवि लामिछाने : सपना पूरा गर्न नसके मुलुक निराशातर्फ जान सक्छ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्षौंदेखि मुलुकले देख्दै आएको सपना यसपटक पनि पूरा गर्न नसके देश निराशातर्फ जान सक्ने बताएका छन्।

रास्वपा पार्टी कार्यालयमा आयोजित कार्यशालापछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सरकारका कामकारबाहीमा कहिले प्रशंसा र कहिले आलोचना हुनु स्वाभाविक भएको बताए। उनका अनुसार सरकारको कामको मूल्यांकन गर्दा सबैभन्दा महत्वपूर्ण कुरा सरकारको नियत रहेको छ।

उनले सरकारका काममध्ये केही विवादित भए पनि केही कामले आम नागरिकबाट प्रशंसा पाइरहेको बताए। सरकार सुशासनको मुद्दामा नचुकेको दाबी गर्दै उनले सरकारका काममा ठूलो अनियमितताको प्रश्न उठ्न नसकेको जिकिर गरे।

लामिछानेले सरकारका कामको व्याख्या मात्रै गरेर नहुने भन्दै त्यसको परिणाम देखिनुपर्नेमा जोड दिए। आम नागरिकले सरकारको पहिलो वर्षलाई लिएर धेरै गुनासो नगरेको उनको भनाइ थियो।

उनले मुलुकमा लामो समयदेखि देखिँदै आएको परिवर्तन र समृद्धिको सपना पूरा गर्न सरकार गम्भीर भएर अघि बढ्नुपर्ने बताए। जनताको अपेक्षा पूरा हुन नसके त्यसले मुलुकलाई निराशाको अवस्थातर्फ लैजान सक्ने उनको चेतावनी थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार