भदौ २४ २०८३, बुधवार

भदौ २३ र २४ का घटनाको सत्यतथ्य निष्पक्ष अनुसन्धानबाट स्थापित गर्नुपर्छ : भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८२ साल भदौ २३ र २४ गते भएका घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ती घटनाका पीडालाई राजनीतिक विभाजन र प्रतिशोधको आधार नबनाउन आग्रह गरेकी छन्।

घटनाको एक वर्ष पूरा भएको अवसरमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भण्डारीले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइते तथा उपचाररत सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।

उनले एक वर्षको अवधिमा देशको राजनीतिक परिस्थितिमा ठूलो परिवर्तन आएको उल्लेख गर्दै उक्त घटनाबाट उत्पन्न राजनीतिक असन्तुष्टि र नयाँ पुस्ताको आकाङ्क्षाले नेपाली राजनीतिमा नयाँ परिस्थिति सिर्जना गरेको बताएकी छन्। निर्वाचनमार्फत जनताले आफ्नो अभिमतसमेत व्यक्त गरिसकेको भन्दै उनले परिवर्तनलाई लोकतान्त्रिक प्रक्रियाबाट संस्थागत गर्दै सुशासन, पारदर्शिता, जवाफदेहिता र समृद्धिको दिशामा अघि बढ्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गरेकी छन्।

तर, एक वर्ष बितिसक्दा पनि भदौ २३ र २४ गतेका घटनासँग सम्बन्धित कतिपय गम्भीर प्रश्न अनुत्तरित रहेको भण्डारीको भनाइ छ। उनले भदौ २३ गते भएको मानवीय क्षति र भदौ २४ गते देखिएको व्यापक हिंसा, आगजनी, तोडफोड तथा सार्वजनिक र निजी सम्पत्तिको विनाशलाई एउटै प्रकृतिका घटनाका रूपमा हेर्न नहुने बताएकी छन्।

आन्दोलनमा उठाइएका जायज माग र मूल भावनाभन्दा फरक गतिविधि देखिएको उल्लेख गर्दै उनले बाह्य घुसपैठ वा अवाञ्छित तत्वहरूको संलग्नताको प्रश्नसमेत गम्भीर रूपमा उठेको बताएकी छन्। यसको सत्यतथ्य निष्पक्ष अनुसन्धानबाट स्पष्ट हुनुपर्ने उनको धारणा छ।

भण्डारीले राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान प्रतिवेदन सार्वजनिक गरी सरकारलाई विभिन्न सिफारिस गरिसकेको उल्लेख गरेकी छन्। सरकारद्वारा गठित छानबिन आयोगको प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक नभए पनि त्यसका केही विवरण सञ्चारमाध्यममार्फत बाहिर आएको उनले बताएकी छन्।

उनका अनुसार भदौ २३ र २४ गतेका घटनाको समग्र प्रकृति, हिंसा, विध्वंस तथा त्यसमा संलग्न पक्षहरूको भूमिकासम्बन्धी सबै प्रश्न अझै पूर्ण रूपमा निरूपण भएको अनुभूति हुन सकेको छैन। त्यसैले कुनै पूर्वाग्रह वा राजनीतिक आग्रह नराखी दुवै दिनका घटनाको सत्य, तथ्य र जिम्मेवारी निष्पक्ष, स्वतन्त्र र विश्वसनीय ढङ्गले स्थापित गर्नुपर्ने उनले बताएकी छन्।

भण्डारीले न्यायलाई राजनीतिक प्रतिशोधका रूपमा प्रयोग गर्न नहुने स्पष्ट गर्दै प्रमाण र कानुनका आधारमा दोषीलाई जवाफदेही बनाउनु तथा निर्दोषमाथि अन्याय हुन नदिनु नै न्यायको मूल मर्म भएको बताएकी छन्। राज्यका निकाय हुन् वा आन्दोलनमा सहभागी नागरिक, कानुन सबैका लागि समान हुनुपर्ने उनको भनाइ छ।

नयाँ पुस्ताले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र जवाफदेहिताका मागलाई सकारात्मक रूपमा लिँदै लोकतान्त्रिक विधिबाट समाधान खोज्नुपर्ने धारणा उनले दोहोर्‍याएकी छन्। नागरिकका आवाज र असहमतिलाई सम्मान गर्दै लोकतन्त्रलाई अझ सुदृढ बनाउनुपर्नेमा उनले जोड दिएकी छन्।

साथै, लोकतन्त्रमा अधिकारसँगै जिम्मेवारी पनि जोडिने उल्लेख गर्दै भण्डारीले नागरिकको जीवनभन्दा ठूलो कुनै राजनीतिक माग र राष्ट्रको सार्वजनिक सम्पत्तिभन्दा ठूलो कुनै आन्दोलन हुन नसक्ने बताएकी छन्।

उनले भदौ २३ र २४ गतेका पीडालाई राजनीतिक विभाजन र प्रतिशोधको आधार नभई राष्ट्रिय आत्मसमीक्षा र सुधारको अवसर बनाउन आग्रह गरेकी छन्। नयाँ पुस्ताको ऊर्जा, ज्ञान र सिर्जनशीलतालाई समृद्ध नेपाल निर्माणमा जोड्दै असहमतिलाई लोकतान्त्रिक विधिबाट सम्बोधन गर्नुपर्ने र राष्ट्रिय एकतामार्फत विभाजनलाई परास्त गर्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार