राजाको सन्देशको राप्रपाद्वारा स्वागत, झापाका पालिकाहरूमा दीप प्रज्वलन
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा जारी सन्देशको स्वागत गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले झापा जिल्लाका अधिकांश पालिकाहरूमा दीप प्रज्वलन गरेको छ। शनिबार साँझ बिर्तामोडको मुक्तिचोकमा आयोजित कार्यक्रममा भागवत वाचक गुरु मोहन शरणले "राजसंस्था नभए धर्मको रक्षा सम्भव छैन" भन्दै नेपालमा राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि हरतरहले साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा राप्रपाका निवर्तमान अध्यक्ष रञ्जु प्याकुरेलले "अब राप्रपा आन्दोलनमा उत्रिएको छ, सबै देशप्रेमीहरूको साथ आवश्यक छ" भन्दै आमसमर्थकहरूलाई एकताबद्ध हुन आह्वान गरिन्। त्यसैगरी, नगर अध्यक्ष लक्ष्मी गौतमले उपस्थित कार्यकर्ताहरूलाई धन्यवाद दिँदै आगामी कार्यक्रमहरूमा अझ ठूलो संख्यामा सहभागिता जनाउन आग्रह गरे।
दीप प्रज्वलनसहित सम्पन्न उक्त कार्यक्रममा पार्टीका कोशी प्रदेश सचिव कुमार भट्टराई, धार्मिक अभियन्ता ध्रुव शिवाकोटी, प्रदेश सांसद गोपा गजमेरलगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया