निषेधाज्ञा तथा कर्फ्यूसम्बन्धी नेपाली सेनाको अपील
काठमाडौं । मुलुकमा विद्यमान विपद्मय परिस्थितिमा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न नेपाली सेनाले आम जनतासँग अपील गरेको छ।

सेनाले मंगलबार जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अपराधजन्य गतिविधि नियन्त्रणका लागि सहयोग गर्न आग्रह गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “आन्दोलनको नाममा अराजक समूहहरूले सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी, लुटपाट, हिंसात्मक आक्रमण, बलात्कार प्रयासजस्ता गतिविधि गर्नसक्ने सम्भावना रहेकाले जनताले सतर्क रहनुपर्छ।”
वर्तमान अवस्थामा देशभर लागू भएको निषेधाज्ञा आज (भदौ २५ गते) बेलुकी ५ बजेबाट लागू भई भोलि (भदौ २६ गते) बिहान ६ बजेसम्म निरन्तर रहने जनाइएको छ। सेनाले शान्ति सुरक्षा अवस्थालाई मध्यनजर राखी आवश्यकताअनुसार थप कर्फ्यु आदेश जारी गर्न सकिने पनि जानकारी दिएको छ।

त्यसैगरी, दोस्रो विज्ञप्तिमा सेनाले निषेधाज्ञा र कर्फ्युकालमा अत्यावश्यक सेवाका सवारी साधन—एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका सवारी साधन—सञ्चालनमा कुनै अवरोध नहुने स्पष्ट पारेको छ। आवश्यक सहयोगका लागि नागरिकलाई नजिकैका सुरक्षाकर्मीहरूसँग सम्पर्क राख्न अनुरोध गरिएको छ।
आन्दोलनका नाममा तोडफोड, आगजनी, लुटपाट र व्यक्तिलक्षित आक्रमणजस्ता गतिविधिलाई दण्डनीय अपराधका रूपमा कडाइका साथ कारबाही गरिने चेतावनी सेनाले दिएको छ।

नेपाली सेनाले मुलुकमा राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्दै जनजीवन सामान्य बनाउन सबैलाई जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आग्रह गरेको छ। सेनाले भनिएको छ, “जस्तोसुकै परिस्थितिमा पनि नेपाली सेना शान्ति, सुरक्षा र मानवीय सेवामा प्रतिबद्ध रहन्छ।


प्रतिक्रिया