सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति, संसद् विघटनमा अझै अड्को
भाद्र २७, काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनरत जेन–जी समूहको प्रस्तावअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने सहमति जनाएका छन् । तर, संसद् विघटनको एजेन्डामा भने अझै विवाद कायम छ ।
शीतल निवासमा बिहीबार राति साढे १० बजेदेखि शुक्रबार बिहानसम्म चलेको वार्तामा राष्ट्रपति पौडेल, पूर्वप्रधानन्यायाधीश कार्की, प्रधानसेनापति अशोकराज सिग्देल र कानुनी सल्लाहकार बाबुराम कुँवरबीच लामो छलफल भएको थियो ।

बैठकमा सहभागी एक अधिकारीले भने,
“पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति त भयो, तर संसद् विघटनको विषयमा अझै सहमति जुट्न सकेको छैन । संवैधानिक प्रश्न नउठोस् भनेर विस्तृत छलफल गरिएको हो ।”

शुक्रबार बिहान ९ बजे पुनः छलफल गरेर टुंगो लगाउने तयारी भएको छ ।
भ्रष्टाचार, अनियमितता र बेथितिविरुद्ध जेन–जी आन्दोलनले सशक्त दबाब सिर्जना गरेपछि कार्की अन्तरिम सरकारको नेतृत्वमा आउने सुनिश्चित भएको हो ।

छलफलमा राष्ट्रपतिसँगै कार्की र सेनाप्रमुख सिग्देलसहित कानुनविद् ओमप्रकाश अर्याल पनि सहभागी थिए । यसअघि राष्ट्रपतिले सभामुख देवराज घिमिरे, माओवादी नेता वर्षामान पुन, कांग्रेस नेता रमेश लेखक र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग पनि परामर्श गरेका थिए ।
अन्तिम टुंगो भने शुक्रबारको वार्तापछि मात्र लाग्ने देखिएको छ ।
प्रतिक्रिया