आठ दलको आपत्ति : प्रतिनिधिसभा विघटन संविधानविपरीत
काठमाडौं — प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध आठ दलले संयुक्त रुपमा आपत्ति जनाएको छ। कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा, जसपा, नयाँ शक्ति पार्टी (नाउपा) र जनमत पार्टीले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन संविधान, सर्वोच्च अदालतका नजीर तथा संवैधानिक परम्पराविपरीत भएको बताएका हुन्।

विज्ञप्तिमा भनिएको छ, “जननिर्वाचित संस्था प्रतिनिधिसभा विघटन गर्ने कार्य संविधानको धारा ७६(७) र संवैधानिक सर्वोच्चता विपरीत रहेको छ। यसले जनताको मताधिकारको अवमूल्यन गर्नुका साथै संविधानमाथि प्रहार गरेको छ।”
ती दलहरूले तत्काल प्रतिनिधिसभा पुनःस्थापना गरी संसद् बैठक बोलाउन र आन्दोलनरत समूहको माग संसद् मार्फत सम्बोधन गर्न सरकारसँग जोडदार माग गरेका छन्। साथै, लामो संघर्ष र बलिदानबाट प्राप्त लोकतान्त्रिक संविधानविपरीत कुनै पनि कदम स्वीकार्य नहुने चेतावनी समेत दिएका छन्।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्त गर्दै सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेका थिए। कार्कीलाई जेनजी आन्दोलनको बलमा ढलेको केपी शर्मा ओली नेतृत्वको सरकारपछि अन्तरिम सरकार प्रमुखमा नियुक्त गरिएको हो। आगामी फागुन २१ गते नयाँ प्रतिनिधिसभा निर्वाचन गर्ने मिति तोकिएको छ।

प्रतिक्रिया