भदौ १५ २०८३, सोमबार

एकीकृत समाजवादीले महाधिवेशनको डेढ महिनापछि निर्वाचनबाट पदाधिकारी चयन गरेको

एकीकृत समाजवादीले महाधिवेशनको डेढ महिनापछि निर्वाचनबाट पदाधिकारी चयन गरेको

 

एकीकृत समाजवादीले महाधिवेशनको डेढ महिनापछि निर्वाचनबाट पदाधिकारी चयन गरेको छ । उपाध्यक्ष, उपमहासचिव र सचिव गरी १७ पदाधिकारीका लागि ६६ जना चुनावी प्रतिस्पर्धामा थिए । उपाध्यक्ष खुलामा डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला विजयी भएका छन् । 

तुलाधरले १८९, खतिवडाले १६१, जोशीले १५६ र ज्वालाले १३९ मत ल्याएका छन् । पराजित विरोध खतिवडाले १२७ र डा. विजय पौडेलले १०७ मत ल्याएका छन् भने अन्यले सयभन्दा कम मत ल्याएका छन् । उपाध्यक्ष खुला चारजनाका लागि ११ जना प्रतिस्पर्धामा थिए । ललितबहादुर बस्नेत, उर्वादत्त पन्त, साध्यबहादुर भण्डारी, केशवलाल श्रेष्ठ र बलराम बास्कोटा पनि उम्मेदवार थिए ।

महिला उपाध्यक्षमा जयन्ती राईले रामकुमारी झाँक्रीलाई पराजित गरेकी छिन् । राईले सर्वाधिक १९९ मत ल्याउँदा झाँक्रीले ११२ मत मात्र ल्याइन् । झाँक्री चर्चित पात्र भए पनि नेतृत्वसँग राम्रो सम्बन्ध नभएकाले धेरै मतान्तरले पराजित भएको नेताहरू बताउँछन् । ‘उहाँको सम्बन्ध अध्यक्षसँग र सम्मानित नेतासँग पनि राम्रो थिएन । नेतृत्वविरुद्ध विगतमा उहाँले विषवमन गर्नुभएको थियो । त्यसैको परिणाम निर्वाचनमा देखियो,’ नेपालनिकट एक नेताले भने । झाँक्रीनिकट नेताहरूले बदलाको राजनीति राम्रो नहुने चेतावनी दिएका छन् । एक केन्द्रीय सदस्यका अनुसार भोट नहाल्ने सूची पनि वितरण गरिएको थियो । जसमा डा. विजय पौडेल, प्रकाश ज्वाला र रामकुमार झाँक्रीको नाम थियो । उनीहरूले पार्टीमा पुस्तान्तरणको विषय उठान गरेका थिए । 

मधेशी उपाध्यक्षमा धर्मनाथप्रसाद साहले रामचन्द्र झालाई पराजित गरेका छन् । उपमहासचिवमा मेटमणि चौधरी, गरिमा शाह, रामकुमार भट्टराई र राजेन्द्र राई विजयी भएका छन् । उपमहासचिव चारजनाका लागि १९ जना चुनावी मैदानमा थिए । लक्ष्मण केसी, रामचन्द्र यादव, महेश रेग्मी, डा. देउमान सम्बाहाङ्फे, नागेन्द्र चौधरी, अम्बरबहादुर थापा, लक्ष्मण पौडेल, शत्रुधन महतो, हरिप्रसाद पराजुली, श्रीप्रसाद साह, जीवनराम श्रेष्ठ, मीना ज्ञवाली, भविश्वर पराजुली, गोमा विष्ट र भवानी खड्का पनि प्रतिस्पर्धामा थिए । सचिव दलितमा गणेश विश्वकर्मा र सचिव आदिवासी जनजातिमा बलदेव चौधरी निर्वाचित भएका छन् । सचिव खुलामा शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डेय, सावित्रा भुसाल, श्रीनाथ बराल र चन्द्रबहादुर शाही विजयी भएका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार