भदौ १५ २०८३, सोमबार

सरकारले तिर्न बाँकी हुने नवीकरण शुल्कको वार्षिक १० प्रतिशत ब्याज लिने गरी एनसेलको अनुमतिपत्र नवीकरण गर्ने निर्णय गर्यो

सरकारले तिर्न बाँकी हुने नवीकरण शुल्कको वार्षिक १० प्रतिशत ब्याज लिने गरी एनसेलको अनुमतिपत्र नवीकरण गर्ने निर्णय गर्यो

 

काठमाण्डौ – सरकारले तिर्न बाँकी हुने नवीकरण शुल्कको वार्षिक १० प्रतिशत ब्याज लिने गरी एनसेलको अनुमतिपत्र नवीकरण गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले एनसेललाई २० अर्ब शुल्क चार किस्तामा बुझाउन सक्ने सुविधासहित अनुमतिपत्र नवीकरण गर्ने निर्णय गरेको हो ।

एनसेललाई मोबाइल सेवाको अनुमति पत्र तेस्रोपटक नवीकरण गर्न वार्षिक ५ अर्बका दरले चार किस्ता र ब्याजसमेत बुझाउनुपर्ने गरी किस्ता सुविधा दिने निर्णय भएको छ । २० अर्बको चार किस्तामध्ये पहिलो किस्ता बुझाएपछि मोबाइल नवीकरण हुने सरकारको निर्णय छ ।

एनसेलले तिर्ने पहिलो किस्तामा ब्याज नलागे पनि दोस्रो किस्ताबाट १० प्रतिशतका दरले ब्याज तिर्नेगरी नवीकरण प्रक्रिया अघि बढाइएको सरकारले जनाएको छ ।

यसअघि पहिलो र दोस्रो पटक अनुमतिपत्र नवीकरणका बेला पनि सरकारले एनसेललाई किस्ताबन्दीमा आवश्यक दस्तुर बुझाउने सुविधा दिएको थियो । तर त्यतिबेला ब्याजको शर्त राखिएको थिएन । एनसेलको अनुमतिपत्र नवीकरणको अवधि पर्सि आइतवार सकिँदैछ ।

कम्पनीले नवीकरणको लागि तीन महिनाअघि नै दूरसञ्चार प्राधिकरणमा प्रस्ताव पठाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार