अन्तर्राष्ट्रिय बजार अस्थिर भएको भन्दै निगमले रोक्यो ‘फुल’ सिलिन्डर, आधा सिलिन्डरलाई नै निरन्तरता
काठमाडौँ । बजारमा खाना पकाउने ग्यास (एलपीजी) को मौज्दात पर्याप्त रहेको चर्चा चलिरहेका बेला नेपाल आयल निगमले तत्काल १४.२ केजीको पूर्ण सिलिन्डर बिक्री नखुलाउने भएको छ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको अनिश्चितता र आपूर्ति शृङ्खला जुनसुकै बेला प्रभावित हुनसक्ने भन्दै निगमले हाल वितरण भइरहेको ७.१ केजीको आधा सिलिन्डरलाई नै निरन्तरता दिने निर्णय गरेको हो।
निगमको तर्क: माग ह्वात्तै बढ्छ, ग्यारेन्टी कसले लिने?
निगमका प्रवक्ता मनोज ठाकुरले परिस्थितिको पूर्ण विश्लेषण नगरी जोखिम मोल्न नसकिने बताए। उद्योगीहरूले बुलेटमै ग्यास थन्किएको र स्टक धेरै भएको दाबी गरे पनि निगमले उद्योगमा ग्यास थन्किनुको कारण र वास्तविक तथ्याङ्कको खोजी भइरहेको जनाएको छ।

पश्चिम एसियामा जारी द्वन्द्वका कारण आपूर्ति चक्र प्रभावित हुनसक्ने भन्दै प्रवक्ता ठाकुरले भने, “अहिले १४.२ केजीको सिलिन्डर बजारमा पठाउने बित्तिकै माग ह्वात्तै बढ्छ। यदि अन्तर्राष्ट्रिय परिस्थितिका कारण आपूर्तिमा अवरोध आयो भने त्यसको ग्यारेन्टी कसले गर्ने?”
उनका अनुसार हाल ७.१ केजीको सिलिन्डरले उपभोक्ताको माग धानिरहेको छ र उपभोक्ताबाट खासै गुनासो पनि आएको छैन।

आपूर्ति कति छ?
निगमका अनुसार अप्रिल महिनाको पहिलो १५ दिनमा मात्रै करिब १८ हजार मेट्रिक टन ग्यास नेपाल भित्रिएको छ। यसअघि मासिक ४०–५० हजार टन आयात हुँदा पनि बजारमा अभाव भएको अनुभव स्मरण गर्दै निगमले अहिलेको सहज अवस्थालाई बिग्रन नदिने नीति लिएको हो।
उद्योगीको दबाब
ग्यास उद्योगीहरूले भने स्टक धेरै भएको भन्दै पूर्ण सिलिन्डर बिक्री खुला गर्न निगमलाई निरन्तर दबाब दिइरहेका छन्। तर निगमले आपूर्तिको सुनिश्चितता नभएसम्म पुरानै नीतिमा कायम रहने प्रष्ट पारेको छ।
प्रतिक्रिया