भदौ २४ २०८३, बुधवार

शुभलक्ष्मी सहकारीका उपाध्यक्ष बाहेक सबै पद निर्बिरोध

 

गौरादह -  गौरादहस्थित शुभलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग आबद्ध नेता तथा कार्यकर्ताले उम्मेदवारी फिर्ता लिएपछि केही पदमा उम्मेदवारहरू निर्विरोध हुने अवस्था बनेको छ।

सहकारीको सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता भएपछि रास्वपासँग आबद्ध केही व्यक्तिहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्। रास्वपाले सहकारी तथा वित्तीय संस्थामा दलीय भागबण्डा र राजनीतिक हस्तक्षेपभन्दा योग्यता, क्षमता, अनुभव, पारदर्शिता तथा संस्थाप्रतिको प्रतिबद्धताका आधारमा नेतृत्व चयन हुनुपर्ने धारणा सार्वजनिक गर्दै आफ्ना नेतृत्व तहका उम्मेदवारलाई उम्मेदवारी फिर्ता गराएको जनाएको थियो।

रास्वपाका उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएपछि सहकारीको निर्वाचनमा अध्यक्ष पदमा टिका प्रसाद श्रेष्ठको मात्र उम्मेदवारी कायम भएको छ। यस अघि  कृष्ण बाँस्कोटाले अध्यक्ष पदमा उम्मेद्वारी दिएका थिए।  यससँगै श्रेष्ठ अध्यक्ष पदमा निर्विरोध हुने भएका छन्।

त्यस्तै, सचिव पदमा हरि प्रसाद प्रसाईं, कोषाध्यक्ष पदमा नारायणकुमार कार्की तथा लेखा सुपरीवेक्षण समितिको संयोजकमा सुमन खत्रीको मात्र उम्मेदवारी कायम रहेको छ। यी पदमा पनि उनीहरू निर्विरोध हुने अवस्था बनेको छ।

May be an image of ticket stub and text

महिला सदस्यतर्फ तीन पदका लागि गीता खतिवडा, मनमाया राई र मीना रोकाको मात्र उम्मेदवारी कायम रहेको छ । खुला सदस्यतर्फ आवश्यक दुई पदमा कृष्ण शर्मा र दयाराम काफ्लेको उम्मेदवारी परेको छ।

तर उपाध्यक्ष पदमा भने डिल्ली प्रसाद रिजाल र रामकाजी कटुवालबीच प्रतिस्पर्धा हुने भएको छ। लेखा सुपरीवेक्षण समितिको सदस्य पदमा बालकुमार श्रेष्ठ र भुपाल निरौलाको उम्मेदवारी कायम छ।

यसअघि शुभलक्ष्मी सहकारीको निर्वाचनमा राजनीतिक दलसँग आबद्ध व्यक्तिहरूको उम्मेदवारीलाई लिएर गौरादहमा बहससमेत चलेको थियो। त्यसपछि रास्वपाले सहकारीलाई राजनीतिकरणबाट मुक्त राख्ने आफ्नो धारणा सार्वजनिक गर्दै पार्टी नेतृत्व तहमा रहेका व्यक्तिहरूले उम्मेदवारी फिर्ता लिएको जनाएको हो।

रास्वपाले “सहकारी बचाऔँ, विश्वास बचाऔँ। राजनीति बाहिर, योग्यता र क्षमता भित्र” भन्ने धारणा अघि सारेको छ।

उम्मेदवारी फिर्तापछि सार्वजनिक गरिएको अन्तिम नामावलीअनुसार शुभलक्ष्मी सहकारीको निर्वाचनमा केही पद निर्विरोध हुने र केही पदमा मात्र प्रतिस्पर्धा हुने भएको छ। निर्वाचन असोज ४ गते बिहान १० बजे हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  

May be an image of text

प्रतिक्रिया

सम्बन्धित समाचार