गौरादह नगरपालिकाका विद्यालयमा नयाँ शैक्षिक सत्रका लागि निर्देशन जारी
झापा — गौरादह नगरपालिकाले नयाँ शैक्षिक सत्र २०८३ सञ्चालनका सम्बन्धमा सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विभिन्न निर्देशन जारी गरेको छ। नगर कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनाअनुसार विद्यालय सञ्चालन, विद्यार्थी भर्ना, शुल्क र छात्रवृत्तिसम्बन्धी व्यवस्था स्पष्ट गरिएको हो।
नगर शिक्षा समितिको निर्णयअनुसार बैशाख १४ गतेदेखि विद्यालयहरूमा नियमित पठनपाठन सुरु गरिनेछ। सोही दिन बिहान प्रार्थना सभासहित कक्षा सञ्चालन गर्न निर्देशन दिइएको छ।
विद्यार्थी भर्ना प्रक्रियामा जन्मदर्ता र खोप कार्ड अनिवार्य गरिएको छ भने अन्य विद्यालयबाट स्थानान्तरण हुने विद्यार्थीका लागि EMIS प्रणालीमार्फत ट्रान्सफर प्रमाणपत्र आवश्यक पर्ने उल्लेख गरिएको छ। जन्मदर्ता नभएका बालबालिकाको हकमा सम्बन्धित वडाबाट जारी प्रमाणका आधारमा मात्र भर्ना लिन पाइने व्यवस्था गरिएको छ।
संस्थागत विद्यालयहरूलाई शुल्क निर्धारण मापदण्ड २०७८ अनुसार मात्र शुल्क लिन निर्देशन दिइएको छ। साथै, एकै विद्यालयमा एउटै विद्यार्थीबाट एकपटक मात्र भर्ना शुल्क लिन पाइने व्यवस्था गरिएको छ।
त्यसैगरी, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐनअनुसार संस्थागत विद्यालयहरूले छात्रवृत्ति उपलब्ध गराउनुपर्ने उल्लेख छ। विद्यार्थी संख्याका आधारमा कम्तीमा १० देखि १५ प्रतिशतसम्म छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरिएको छ। साथै, प्रदान गरिएको छात्रवृत्तिको विवरण सार्वजनिक गर्नुपर्ने पनि सूचनामा उल्लेख छ।
नगरपालिकाले सबै विद्यालयलाई यी निर्देशनहरू कार्यान्वयन गर्न आग्रह गरेको छ।
प्रतिक्रिया