शिक्षकहरुलाई योग शिक्षा तालीम प्रदान, ३० शिक्षक लाभान्वित
गौरादह/ गौरादह नगरपालिका भित्रका सामुदायिक तथा निजि विद्यालयहरुमा आयुर्वेद योग शिक्षाको कक्षा सञ्चालन गर्ने तैयारी थालिएको छ । विद्यालयमा योग कक्षा सञ्चालन गर्ने उद्देश्यले ५ दिने प्रशिक्षण कार्यक्रम आयोजना गरि उक्त कुराको जानकारी गराइएको हो । पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रम अनुसारका योग कक्षाहरु सञ्चालन गर्ने बताइएको छ ।

योग प्रशिक्षण तालीम सम्पन्न
गौरादहमा ५ दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा प्रशिक्षक तालिम सम्पन्न
गौरादह, असार १८ – ‘योग गरौँ, स्वस्थ रहौँ’ भन्ने नाराका साथ गौरादहमा पाँच दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा प्रशिक्षक तालिम कार्यक्रम सम्पन्न भएको छ। गौरादह नगरपालिका अन्तर्गत बैगुन्धुरा आयुर्वेद अस्पतालको समन्वय तथा पतञ्जली योग समितिको सहकार्यमा विद्यालय पठनपाठनमा आधारित प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।
तालिममा पतञ्जली योग समिति कोशी प्रदेशका महामन्त्री लक्ष्मीप्रसाद काफ्लेले प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। त्यसैगरी पूर्व मिडिया प्रभारी तथा झापा जिल्ला सल्लाहकार समिति सदस्य सोमनाथ आचार्य र झापा जिल्ला सदस्य तथा योग प्रशिक्षक निर्मल बाँस्तोलाले सहप्रशिक्षकका रूपमा प्रशिक्षण दिएका थिए।
कार्यक्रममा जनता माध्यमिक विद्यालय, स्कुलचौन माध्यमिक विद्यालय तथा गोल्डेन सनराइज माध्यमिक विद्यालय गौरादह–१ का ३० जना शिक्षकहरूको सहभागिता रहेको थियो।
समापन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख तथा गौरादह–१ का वडाध्यक्ष नगेन्द्र भण्डारीले विद्यालय क्षेत्रमा योग शिक्षाको आवश्यकता बढ्दै गएको बताए। उनले विद्यार्थीहरूको मानसिक तथा शारीरिक स्वास्थ्यमा सुधार ल्याउन विद्यालयहरूमा अनिवार्य रूपमा योग शिक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिए। नगरपालिकाको आर्थिक सहयोगमा प्रशिक्षक उत्पादन कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै उनले पाठ्यक्रममै योग शिक्षा समावेश रहेकाले विद्यार्थीहरूले नियमित रूपमा योग सिक्ने अवसर पाउनुपर्ने बताए।
समापन कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख विदुर आचार्य, जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक मित्रदेव काफ्ले, गोल्डेन सनराइज माध्यमिक विद्यालयका प्रधानाध्यापक राजकुमार कार्की लगायतले शुभकामना मन्तव्य प्रदान गरेको कार्यक्रममा
बैगुन्धुरा आयुर्वेद अस्पतालका प्रमुख बेदप्रकाश शर्मा समन्वय गरेका थिए ।

प्रतिक्रिया