वैशाख ३१ २०८३, बिहिबार

शैक्षिक गुणस्तरमा कडाइ गर्दै कमल गाउँपालिका, कमजोर सूचीमा परे ७ विद्यालय

Ads


झापाको कमल गाउँपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था सुधार गर्न कडा कदम चाल्न थालेको छ। गाउँपालिका अध्यक्ष हुकुम सिंह राई स्वयं विद्यालय निरीक्षणमा खटिएपछि कमजोर प्रदर्शन गर्ने विद्यालयमाथि दबाब बढेको छ।
अध्यक्ष राईले “कहिल्यै सुधार हुन नचाहने विद्यालयलाई घटुवा वा मर्ज गरिने” स्पष्ट संकेत दिएका छन्। पछिल्ला दुई दिनमा मात्रै गाउँपालिकाभित्र रहेका २१ सामुदायिक विद्यालयमध्ये ७ वटा विद्यालयको स्थलगत निरीक्षण गरिएको गाउँपालिकाले जनाएको छ।
निरीक्षण गरिएका विद्यालयमा नवदुर्गे आधारभूत विद्यालय, कञ्चनजंघा आधारभूत विद्यालय, सरस्वती माध्यमिक विद्यालय (मुजुरभिट्टा), सरस्वती माध्यमिक विद्यालय (रङ्गपुर), कालिका माध्यमिक विद्यालय, बासवारी माध्यमिक विद्यालय तथा कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालय रहेका छन्।
अध्यक्ष राई विद्यालयमै पुगेर कार्यालयका खातापाता जाँच्ने, शिक्षकसँग छलफल गर्ने र विद्यार्थीहरूसँग कक्षाकोठामै संवाद गर्ने गरेका छन्। निरीक्षणका क्रममा कतिपय विद्यालयमा शैक्षिक गुणस्तर कमजोर, विद्यार्थीको सिकाइ उपलब्धि सन्तोषजनक नभएको तथा प्रशासनिक व्यवस्थापन प्रभावकारी नरहेको पाइएको स्रोतको दाबी छ।
गाउँपालिकाले पटक–पटक सुधारका लागि निर्देशन दिँदा पनि बेवास्ता गर्ने विद्यालयप्रति अब कठोर नीति अपनाइने संकेत दिएको छ। लगातार कमजोर नतिजा दिने र सुधारप्रति गम्भीर नदेखिने विद्यालयलाई मर्जिङ गर्ने तयारीले स्थानीय शिक्षा क्षेत्रमा तरंग सिर्जना गरेको छ।
स्थानीय अभिभावकले भने गुणस्तरीय शिक्षा सुनिश्चित गर्न अनुगमन आवश्यक भए पनि विद्यालय मर्ज गर्दा विद्यार्थीको पहुँच र भौगोलिक अवस्थालाई समेत ध्यान दिनुपर्ने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार