श्रावण २८ २०८३, बिहिबार

पत्रकार किशोर श्रेष्ठलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । जनआस्था साप्ताहिकका अध्यक्ष एवं पत्रकार किशोर श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

बिहीबार न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा अनुसन्धान गर्न ३ दिन हिरासतमा राख्न अनुमति दिएको काठमाडौं जिल्ला अदालतका प्रवक्ता शिव खतिवडाले जानकारी दिएका छन्।

श्रेष्ठलाई प्रहरीले बुधबार राति नख्खुबाट पक्राउ गरेको थियो। पक्राउपछि पत्रकार महासंघले बिहीबार बिहानैदेखि जिल्ला प्रहरी परिसर काठमाडौंअगाडि विरोध प्रदर्शन गरेको थियो।

श्रेष्ठलाई कानुनी सल्लाह दिन पुगेका वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले समेत तत्काल भेट्न नपाएको जनाइएको छ। प्रहरीले भने नियमित भेटघाटको समय र प्रशासनिक कामका कारण भेटघाटमा सीमितता गरिएको जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार परिसरमा बिहान ६ देखि ९ बजे र दिउँसो ३ देखि ६ बजेसम्म भेटघाटको समय तोकिएको छ। बिहीबार श्रेष्ठलाई भेट्न आउनेको संख्या धेरै भएकाले प्रहरीको नियमित काम प्रभावित हुने अवस्था आएपछि भेटघाट व्यवस्थापन गरिएको उनको भनाइ छ।

प्रहरीले श्रेष्ठसँग सम्बन्धित विभिन्न विद्युतीय उपकरणसमेत नियन्त्रणमा लिएको छ। एसएसपी घिमिरेका अनुसार ललितपुरको ठाडोढुंगास्थित जनआस्था साप्ताहिकको कार्यालयबाट ६ वटा सीपीयू तथा श्रेष्ठको घरबाट २ वटा ल्यापटप प्रहरीले लगेको छ।

अनुसन्धानका क्रममा श्रेष्ठले प्रयोग गर्ने निश्चित उपकरण पहिचान गर्न कठिन भएकाले अन्य उपकरणसमेत नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ।

अब ३ दिनको हिरासत अवधिमा प्रहरीले वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाउनेछ। घटनालाई लिएर पत्रकार महासंघलगायत पत्रकारसम्बद्ध पक्षले भने पत्रकारमाथिको अनुसन्धान र पक्राउ प्रक्रियालाई चासोपूर्वक हेरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार