श्रावण २६ २०८३, मंगलबार

गौरादहमै IAAS प्रवेश परीक्षा, पूर्वी क्षेत्रका विद्यार्थीलाई काठमाडौं धाउनुपर्ने बाध्यता हट्दै


गौरादह । कृषि तथा पशु विज्ञान अध्ययन संस्थान (IAAS) को प्रवेश परीक्षा अब गौरादह कृषि क्याम्पसमै सञ्चालन हुने भएको छ। प्रवेश परीक्षाका लागि काठमाडौं पुग्नुपर्ने बाध्यता अन्त्य हुने भएपछि कोशी तथा मधेश प्रदेशसहित पूर्वी क्षेत्रका कृषि अध्ययन गर्न चाहने विद्यार्थीलाई ठूलो राहत पुग्ने भएको छ।
यसअघि IAAS को प्रवेश परीक्षा दिन पूर्वी क्षेत्रका विद्यार्थीहरू काठमाडौं पुग्नुपर्ने अवस्था थियो। परीक्षा केन्द्र टाढा हुँदा विद्यार्थीले यात्रा, बसोबास र खानालगायतका अतिरिक्त खर्च व्यहोर्नुपरेको थियो। कतिपय विद्यार्थीका लागि समय र आर्थिक भारकै कारण प्रवेश परीक्षा प्रक्रियामा समेत कठिनाइ हुने गरेको थियो।
यही समस्यालाई मध्यनजर गर्दै गौरादह कृषि क्याम्पसमा IAAS का डीनको आगमनका क्रममा विद्यार्थीहरूले गौरादहमै प्रवेश परीक्षा सञ्चालन गर्नुपर्ने माग राखेका थिए। विद्यार्थीहरूको मागपछि स्ववियुले विषयलाई निरन्तर रूपमा प्राथमिकताका साथ अघि बढाएको थियो।
स्ववियुले डीन कार्यालयसँग भएका विभिन्न बैठक तथा छलफलमा प्रवेश परीक्षा केन्द्र गौरादहमै तोक्नुपर्ने विषय उठाउँदै आएको थियो। स्ववियु सभापति, सचिव तथा अन्य क्याम्पसका प्रतिनिधिमार्फत समेत पहललाई निरन्तरता दिइएको थियो।
स्ववियु सभापति स्वर्णिम अधिकारीका अनुसार निरन्तरको पहलपछि गौरादहमै IAAS प्रवेश परीक्षा सञ्चालन गर्ने निर्णय हुनु विद्यार्थीका लागि महत्वपूर्ण उपलब्धि हो।
“यो गौरादह कृषि क्याम्पसका विद्यार्थीका लागि मात्र होइन, समग्र पूर्वी क्षेत्रका विद्यार्थीका लागि महत्वपूर्ण उपलब्धि हो,” अधिकारीले पर्दाफाससँगको कुराकानीमा भने।
उनका अनुसार प्रवेश परीक्षा केन्द्र गौरादहमै कायम हुँदा कोशी र मधेश प्रदेशका विद्यार्थीले काठमाडौंसम्म पुगेर परीक्षा दिनुपर्ने बाध्यता हट्नेछ। यसबाट विद्यार्थीको समय, यात्रा खर्च र बसोबास खर्च बचत हुनुका साथै परीक्षाका लागि टाढाको यात्रा गर्नुपर्ने झन्झटसमेत कम हुनेछ।
विद्यार्थीको मागदेखि निर्णयसम्म
गौरादहमा प्रवेश परीक्षा केन्द्र स्थापना हुनु एकैपटक भएको निर्णय नभई विद्यार्थीको माग र स्ववियुको निरन्तर पहलको परिणाम भएको बताइएको छ। डीनसँगको भेटदेखि विभिन्न बैठक र छलफलसम्म स्ववियुले विषयलाई निरन्तर उठाउँदै आएको थियो।
यस क्रममा गौरादह कृषि क्याम्पस प्रशासन, क्याम्पस प्रमुख तथा शिक्षक–कर्मचारीको समन्वय र सहकार्य पनि महत्वपूर्ण रहेको स्ववियु सभापति अधिकारीले बताए।
उनले विद्यार्थीका वास्तविक समस्या पहिचान गरी सम्बन्धित निकायसम्म पुर्‍याएर समाधानका लागि निरन्तर पहल गर्ने स्ववियुको भूमिकालाई यस निर्णयले थप बलियो बनाएको बताए।
५३ विद्यार्थीको कोटा, तीन स्थानीयका लागि
गौरादह कृषि क्याम्पसमा IAAS अन्तर्गत कुल ५३ विद्यार्थी अध्ययन गर्न पाउने कोटा निर्धारण गरिएको छ। उक्त कोटामध्ये तीनवटा स्थानीय कोटा रहेको जनाइएको छ।
प्रवेश परीक्षा केन्द्र गौरादहमै भएपछि स्थानीय तथा आसपासका जिल्लाका विद्यार्थीलाई मात्रै होइन, पूर्वी नेपालका विभिन्न स्थानबाट कृषि तथा पशु विज्ञान अध्ययन गर्न चाहने विद्यार्थीलाई समेत सहज हुने अपेक्षा गरिएको छ।
कृषि शिक्षा अध्ययनका लागि महत्वपूर्ण शैक्षिक गन्तव्यका रूपमा विकास हुँदै गएको गौरादहमा प्रवेश परीक्षा केन्द्र स्थापना हुनु क्याम्पसको शैक्षिक पहुँच विस्तारको दृष्टिले समेत महत्वपूर्ण मानिएको छ।
विद्यार्थीको एउटा मागबाट सुरु भएको पहल अब पूर्वी क्षेत्रका सयौँ विद्यार्थीको समय र खर्च जोगाउने उपलब्धिमा परिणत भएको छ। गौरादहमा प्रवेश परीक्षा सञ्चालनको निर्णयले क्याम्पसको स्थानीय महत्वसँगै पूर्वी नेपालमा उच्च कृषि शिक्षाको पहुँच विस्तार गर्ने बाटोसमेत थप फराकिलो बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार