भारी वर्षा र बाढी–पहिरोको जोखिम बढ्ने: सतर्कता अपनाउन राष्ट्रिय विपद् प्राधिकरणको आग्रह
काठमाडौं, असार १४ — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले आगामी असार १६ र १७ गते देशका विभिन्न प्रदेशमा भारी वर्षा, मेघगर्जन, चट्याङ र बाढी–पहिरोको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

प्राधिकरणका अनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेको छ। केही हिमाली क्षेत्रमा पनि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।
भारी वर्षाका कारण अकस्मात् बाढी, पहिरो, कटान, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भएकाले विशेष सावधानी अपनाउन प्राधिकरणले अनुरोध गरेको छ।

प्राधिकरणले जोखिम न्यूनीकरणका लागि खोला तथा नदी किनार र पहिरोको जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, डुबानको जोखिम भएका स्थानका बासिन्दालाई सुरक्षित स्थानमा जान तयारी अवस्थामा रहन तथा तीनै तहका सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवकलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ।
साथै, जोखिमयुक्त सडकमा डोजर, एक्साभेटर र लोडरजस्ता उपकरण तयारी अवस्थामा राख्न तथा विपद्सम्बन्धी जानकारीका लागि ११५५, विपद्मा सहयोगका लागि ११४९, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल १११४ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।

प्राधिकरणले जल तथा मौसम विज्ञान विभागबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान र चेतावनी नियमित रूपमा पालना गर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया