श्रावण २० २०८३, बुधवार

विद्यालयको लेखापरीक्षणका लागि आवेदन आह्वान


गौरादह, झापा।
गौरादह नगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र रहेका सामुदायिक तथा धार्मिक विद्यालयहरूको आर्थिक पारदर्शिता र वित्तीय अनुशासनलाई थप मजबुत बनाउन विद्यालयहरूको लेखापरीक्षणका लागि इच्छुक दर्तावाला लेखापरीक्षक (Registered Auditor) तथा फर्मबाट आवेदन आह्वान गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार नगरपालिकाले विद्यालयहरूको वार्षिक लेखापरीक्षणलाई व्यवस्थित र गुणस्तरीय बनाउन यो प्रक्रिया अघि बढाएको हो। 


नगरपालिकाले जारी गरेको सूचनाअनुसार आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गर्न नेपाल सरकारबाट मान्यता प्राप्त लेखापरीक्षक वा लेखापरीक्षण फर्मले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ।

कस्ता कागजात चाहिन्छ?

आवेदनसँगै निवेदन, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट जारी गरिएको पेशागत प्रमाणपत्र तथा नवीकरण गरिएको प्रतिलिपि, कर चुक्ता प्रमाणपत्र र स्थायी लेखा नम्बर (PAN) को प्रतिलिपि पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

समयमै काम नसके अवसर गुम्ने

नगरपालिकाले लेखापरीक्षकका लागि स्पष्ट जिम्मेवारीसमेत तोकेको छ। छनोट भएका लेखापरीक्षकले नियुक्ति पाएको ३० दिनभित्र विद्यालयको लेखापरीक्षण सम्पन्न गर्नुपर्नेछ। साथै, प्रतिवेदन कार्य सम्पन्न भएको सात दिनभित्र नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा बुझाउनुपर्नेछ।
यदि तोकिएको समयभित्र प्रतिवेदन पेश नगरेमा नियुक्ति स्वतः रद्द हुने मात्र होइन, त्यसको सट्टा अर्को लेखापरीक्षकलाई जिम्मेवारी दिइने र ढिलाइ गर्ने फर्म वा लेखापरीक्षकलाई आगामी वर्षहरूमा प्राथमिकता नदिइने चेतावनी पनि सूचनामा उल्लेख गरिएको छ।

पारदर्शिता र जवाफदेहितामा जोड

स्थानीय तहअन्तर्गतका विद्यालयमा सार्वजनिक बजेट खर्च हुने भएकाले त्यसको नियमित र निष्पक्ष लेखापरीक्षण अत्यन्त आवश्यक मानिन्छ। समयमै लेखापरीक्षण सम्पन्न हुँदा विद्यालयको आर्थिक अवस्था स्पष्ट हुनुका साथै अनियमितता नियन्त्रण, स्रोतको प्रभावकारी उपयोग र अभिभावक तथा समुदायको विश्वास बढाउन समेत सहयोग पुग्ने विश्वास नगरपालिकाको छ। 

प्रतिक्रिया

सम्बन्धित समाचार