श्रावण ३१ २०८३, आइतबार

नेपालमै बनेको ‘यात्री पीटू’ स्कुटर लाई सरकारको साथ

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन र निर्माण भएको विद्युतीय स्कुटर ‘यात्री पीटू’ को प्रवर्द्धन तथा विस्तारमा सरकारको साथ रहने बताएका छन्।

काठमाडौँको बुढानीलकण्ठस्थित सिप्रदी यात्रीको कारखानामा पुगेर स्कुटर निर्माण प्रक्रियाको अवलोकन गर्दै अर्थमन्त्री वाग्लेले नेपाली इन्जिनियर र डिजाइनरको मेहनत प्रशंसनीय रहेको बताए। उनले नेपालमै डिजाइन भएर विद्युतीय दुईपांग्रे सवारीसाधन निर्माण हुनु देशका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे।

“तपाईंहरूले गरेको मेहनत सराहनीय छ। यात्री पीटू नेपालमै डिजाइन भएर निर्माण हुनु सुखद कुरा हो। गुणस्तरमा विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल हुनुहोस्, अघि बढ्नुहोस्। सरकार तपाईंहरूको साथमा छ,” अर्थमन्त्री वाग्लेले भने।

उनले नेपाली उत्पादनलाई घरेलु बजारमा मात्र सीमित नराखी विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी अघि बढ्न कम्पनीलाई सुझाव दिए। नेपालले आफ्नै डिजाइन र प्रविधिमा आधारित विद्युतीय सवारीसाधन उत्पादन गर्न थालेको विषयलाई उनले औद्योगिक विकासका दृष्टिले सकारात्मक संकेतका रूपमा व्याख्या गरे।

वाग्लेले विश्वका ठूला ब्रान्डहरूले डिजाइन, उत्पादन र बजार विस्तारका विभिन्न मोडल अपनाइरहेको उदाहरण दिँदै नेपालले पनि आफ्नो क्षमता विस्तार गर्नुपर्ने बताए।

“सरकारले के–के सहयोग गर्नुपर्ने हो भन्नुस्। तर विश्व बजारमा फैलन अरू के–के गर्न सकिन्छ, त्यसमा पनि सोच्नुहोस्,” उनले भने।

नेपालमै बनेको स्कुटर विश्व बजारका स्थापित ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्षम बन्नुपर्नेमा जोड दिँदै उनले नेपाली उत्पादन अमेरिकी बजारदेखि विश्वका अन्य मुलुकसम्म पुग्न सकोस् भन्ने शुभकामना पनि दिए।

अर्थमन्त्रीको कारखाना भ्रमणका क्रममा यात्रीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत असिम पाण्डेले ‘यात्री पीटू’ को डिजाइन, सुरक्षा परीक्षण, प्रयोग भएका पार्टपुर्जा तथा विभिन्न भूभागमा गरिएको परीक्षणबारे जानकारी गराएका थिए।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमै विद्युतीय स्कुटरको डिजाइन तथा उत्पादन गर्नु ऐतिहासिक उपलब्धि भएको बताए। उनका अनुसार स्कुटरको डिजाइन, इन्जिनियरिङ र गुणस्तर परीक्षणका विभिन्न चरण नेपालमै केन्द्रित गरिएको छ।

कम्पनीका अनुसार स्कुटरलाई नेपालको कठिन तथा जटिल पहाडी र हिमाली भूभागमा समेत परीक्षण गरिएको छ। परीक्षण सफल भएपछि छिट्टै सर्वसाधारणका लागि बजारमा ल्याउने तयारी भइरहेको श्रेष्ठले जानकारी दिए।

कम्पनीका अधिकारीहरूले ‘यात्री पीटू’ मा प्रयोग गरिएको डीसी चार्जिङ प्रविधिलाई विशेष विशेषताका रूपमा प्रस्तुत गरेका छन्। यद्यपि स्कुटरका विस्तृत प्राविधिक विशेषता र मूल्य भने सार्वजनिक गर्न बाँकी छ।

श्रेष्ठले नेपाली विद्युतीय सवारीसाधनलाई बजारमा प्रतिस्पर्धी बनाउन सरकारले ब्याट्री, मोटर तथा अन्य पार्टपुर्जा उत्पादनमा प्रयोग हुने कच्चा पदार्थमा सहुलियतपूर्ण नीति लिनुपर्ने बताए।

उनका अनुसार नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहे पनि स्वदेशमै उत्पादन हुने सामग्री र पार्टपुर्जाको आधार बलियो बनाउन सके यसले थप रोजगारी र औद्योगिक अवसर सिर्जना गर्न सक्छ।

नेदरल्याण्ड्सबाट इन्जिनियरिङ अध्ययन पूरा गरेर नेपाल फर्किएका असिम पाण्डेले सन् २०१७ मा विद्युतीय मोटरसाइकल निर्माण गर्ने उद्देश्यसहित ‘यात्री मोटरसाइकल’ स्थापना गरेका थिए।

पछि नेपालको अग्रणी अटोमोबाइल कम्पनी सिप्रदी ट्रेडिङसँगको व्यावसायिक सहकार्यपछि कम्पनी **‘सिप्रदी यात्री’**का रूपमा अघि बढेको हो।

यही सहकार्यअन्तर्गत नेपालमै आफ्नै डिजाइन र इन्जिनियरिङमा आधारित विद्युतीय दुईपांग्रे सवारीसाधन विकास हुँदै आएको कम्पनीले जनाएको छ।

अहिले निर्माण गरिएको ‘यात्री पीटू’ केही दिनमै औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी भए पनि यसको विस्तृत डिजाइन, मूल्य तथा प्राविधिक विवरण भने कम्पनीले हाललाई गोप्य राखेको छ।

नेपालमा डिजाइन र निर्माण भएको यो नयाँ विद्युतीय स्कुटरले स्वदेशी अटोमोबाइल उद्योगमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार
श्रावन २१ २०८३,बिहिबार