भदौ ०७ २०८३, आइतबार

खाना पकाउने एलपी ग्यासको बिक्री–वितरणमा कडाइ, उपभोक्ताको विवरण अनिवार्य

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको बिक्री तथा वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन नयाँ व्यवस्था लागू गरेको छ। निगमले ग्यास उद्योग तथा विक्रेतालाई बिक्री–वितरणसम्बन्धी विवरण नियमित रूपमा उपलब्ध गराउन निर्देशन दिएको हो।

निगमले जारी गरेको सूचनाअनुसार २०८३ भदौ १ गते सोमबारदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेतामार्फत नियमित प्रक्रियाअनुसार ग्यासको बिक्री–वितरणको व्यवस्था मिलाइएको छ। उपभोक्ताले आफूलाई पायक पर्ने ग्यास विक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न निगमले आग्रह गरेको छ।

निगमले ग्यास उद्योगलाई दैनिक बिक्री गर्ने विक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र सिलिन्डर संख्यासहितको विवरण प्रत्येक दिन बिहान ९ बजेभित्र उपलब्ध गराउन निर्देशन दिएको छ।

त्यस्तै, ग्यास विक्रेता तथा वितरकले बिक्री गरेको ग्यासको परिमाण, उपभोक्ताको नाम र सम्पर्क नम्बर सहितको विवरण दैनिक रूपमा तयार गरी सम्बन्धित ग्यास उद्योगलाई उपलब्ध गराउनुपर्नेछ। सम्बन्धित उद्योगले उक्त विवरण सोही दिन नेपाल आयल निगमलाई समेत उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।

निगमले ग्यास बिक्री–वितरण गर्दा अत्यावश्यक घरेलु प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिएको छ। यसबाट खाना पकाउने प्रयोजनका लागि आवश्यक ग्यासको सहज आपूर्ति सुनिश्चित गर्ने निगमको उद्देश्य देखिन्छ।

ग्यास ढुवानी तथा वितरणका क्रममा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग गृह मन्त्रालयमार्फत समन्वयका लागि अनुरोध गरिएको निगमले जनाएको छ। साथै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग समन्वय गरी निगमबाट खटिएका जनशक्तिसमेतको संयुक्त टोलीबाट ग्यास वितरण कार्यको अनुगमन गर्ने व्यवस्था मिलाइएको छ।

नजिकका विक्रेताबाट कुनै कारणवश ग्यास प्राप्त गर्न नसकेका तथा तत्काल अत्यावश्यक परेका उपभोक्ताले नेपाल आयल निगममा सञ्चालनमा रहेको Quick Response Team (QRT) मा सम्पर्क गर्न सक्नेछन्। निगमले QRT का लागि ९८५१ ४४५१९४ र ९८५१ ४४५१९८ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।

निगमले ग्यासको बिक्री–वितरणलाई व्यवस्थित बनाउन उपभोक्ता, विक्रेता, वितरक तथा सम्बन्धित उद्योग सबैलाई तोकिएको व्यवस्था पालना गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार
श्रावन २१ २०८३,बिहिबार