संसद बैठक अनिश्चितकालका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ। बाढी तथा पहिरोबाट उत्पन्न विपद्को परिस्थितिलाई मध्यनजर गर्दै बिहीबार बिहान १ बजेका लागि तय गरिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो।
बुधबार बसेको प्रतिनिधिसभा बैठक समापन गर्दै सभामुख डोलप्रसाद अर्यालले बिहीबार बिहान १ बजेका लागि अर्को बैठकको समय निर्धारण गर्नुभएको थियो। तर, पछिल्लो समय बाढी तथा पहिरोका कारण देशका विभिन्न क्षेत्रमा जनधनको क्षति हुनुका साथै उद्धार तथा राहतको आवश्यकता बढेपछि बैठक स्थगित गर्ने निर्णय गरिएको हो।

प्रतिनिधिसभा सचिवालयले जारी गरेको सूचनामा सरकारका साथै सभाका सदस्यहरू पनि राहत, उद्धार तथा विपद् व्यवस्थापनका कार्यमा संलग्न हुनुपर्ने अवस्था रहेकाले निर्धारित समय र मितिमा बैठक बस्न नसक्ने उल्लेख गरिएको छ।
विपद्का कारण प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्राथमिकता दिनुपर्ने भएकाले संसद्को बैठक स्थगित गरिएको जनाइएको छ।
प्रतिनिधिसभाको अर्को बैठक कहिले बस्ने भन्ने विषयमा नयाँ सूचना जारी गरिनेछ। बाढी–पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेकाले तत्काल संसद् बैठक सञ्चालन हुने अवस्था नरहेको सचिवालयले जनाएको छ।
प्रतिक्रिया