बालेनलाई मोदीको फोन, सम्भव भएसम्म सबै सहयोग गर्न भारत तयार
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग फोन संवाद गरेका छन्।
फोन संवादका क्रममा मोदीले बाढीका कारण भएको मानवीय क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै विपद्को यस कठिन घडीमा भारत नेपालसँगै रहेको बताएका छन्।

मोदीले नेपालका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन भारत तयार रहेको बताएका छन्।
उनले उद्धार तथा राहतका लागि भारतीय अधिकारीहरूले नेपाली सरकारी अधिकारीहरूसँग समन्वय गरिरहेको जानकारीसमेत गराएका छन्। विपद्पछिको उद्धार, राहत तथा आवश्यक सहयोगमा भारतले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता मोदीले व्यक्त गरेका हुन्।
रसुवामा आएको बाढीका कारण सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ भने ठूलो संख्यामा मानिस प्रभावित भएका छन्। विपद्पछि नेपाली सुरक्षा निकाय तथा स्थानीय तहको समन्वयमा उद्धार र राहतका काम तीव्र पारिएका छन्।
यसैबीच, छिमेकी मुलुक भारतबाट व्यक्त भएको सहयोगको प्रतिबद्धतालाई विपद्को समयमा नेपालप्रतिको ऐक्यबद्धताको रूपमा हेरिएको छ। उद्धार तथा राहतका लागि आवश्यक सहयोग जुटाउन दुई देशका सम्बन्धित अधिकारीबीच समन्वय भइरहेको जनाइएको छ।
प्रतिक्रिया