संविधान दिवस तथा राष्ट्रिय दिवस आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदै
संविधानले दिएको निःशुल्क शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, खाद्य सम्प्रभुत्ता, आवासलगायत दर्जनौं आधारभूत हकहरूको अनभूति आमनागरिकले गर्न पाएका छैनन् । मौलिक हकका धारा संविधानमा मात्रै सीमित भएको छ ।

पछिल्लोपटक संविधान संशोधनको बहस भइरहेको छ । संविधान दिवसको अवसरमा सरकारले अहिले बिहान सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मूल समारोह आयोजना गर्दैछ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ । त्यस अवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नु हुनेछ ।
आजै बेलुकी राष्ट्रपति पौडेलले राष्ट्रपति भवनमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम छ । संविधान दिवसका अवसरमा सङ्घ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाले पनि विभिन्न कार्यक्रम गर्दैछन् । विदेशमा रहेका नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रम हुनेछन् । संविधान दिवसकै खुशीयालीमा नागरिकस्तरबाट काठमाण्डौको दरबारमार्गमा राष्ट्रिय दिवस साङ्गीतिक प्रस्तुति हुनेछ ।

यसैबीच संविधान दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा विभिन्न पार्टीका शीर्ष नेताहरूले शुभकामना सन्देशमार्फत उल्लासमय वातावरणमा राष्ट्रिय दिवस भव्य रूपमा मनाउन आम–जनसमुदायलाई आह्वान गर्नुभएको छ । सरकारले संविधान दिवसका अवसरमा दीपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन सबैमा आह्वानसमेत गरेको छ ।
प्रतिक्रिया