वैशाख ३१ २०८३, बिहिबार

रमणीय बन्दै गौरादह बजारमा सेल्फी स्टेसन थप, कोजाग्रत पूर्णिमामा भव्य सांस्कृतिक मेला

Ads


गौरादह बजार, झापा - आधुनिक बजारको रूपमा विकसित गौरादह बजारमा युवायुवती तथा आन्तरिक पर्यटकहरूको आकर्षण बढाउनका लागि १ नम्बर वडा कार्यालयको ८० हजार रुपैयाँ आर्थिक सहयोगमा ६ फिट अग्लो  सेल्फी स्टेसन थप गरिएको छ। सेल्फी स्टेसनले गौरादह बजारलाई थप आकर्षक बनाएको छ र स्थानीय बासिन्दाहरूमा यसको बारेमा सकारात्मक चर्चा भइरहेको पाइन्छ।

वडाध्यक्ष नागेन्द्र भण्डारीले आफ्नो अघिल्लो कार्यकालमा तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री र वर्तमान कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सहयोगमा बजारलाई आधुनिक बनाउने कार्य सम्पन्न भएको बताउनु हुन्छ । । वहाँले भन्नुभयो, “बजारको विकासमा नगरपालिकाको पनि महत्वपूर्ण भूमिका रहेको छ, जसले गर्दा गौरादह बजारलाई नयाँ रूप दिन सफल भयौँ।”

Ads

सेल्फी स्टेसनलाई युवायुवतीले निकै रुचाएका छन्। उनीहरूले यहाँ आएर फोटो खिच्ने, रमाइलो गर्ने गर्छन्, जसले गौरादह बजारलाई आन्तरिक पर्यटनको एउटा आकर्षक गन्तव्यको रूपमा चिनाउन मद्दत पुर्याएको छ। फाइबरद्वारा निर्मित यो सेल्फी स्टेसनको निर्माणमा खर्च बढी भएको भए पनि यसको सौन्दर्यले बजारको प्रतिष्ठा बढाएको वडाध्यक्ष भण्डारीको धारणा छ।

त्यसैगरी, गौरादह बजारमा हरेक वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा लाग्ने सांस्कृतिक मेला यस वर्ष पनि भोलि भव्य रूपमा आयोजना हुँदैछ। स्थानीय संस्कृति, परम्परा र विविध सांस्कृतिक कार्यक्रमहरूको प्रस्तुति रहने यस मेलामा स्थानीय बासिन्दा र बाह्य आगन्तुकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। मेलाले स्थानीय सांस्कृतिक धरोहरको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

Ads

गौरादह बजारको यस नयाँ पहलले स्थानीय अर्थतन्त्र र पर्यटनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार