देशबाट बाहिरिनेभन्दा भित्रने रकमको मात्रा बढ्यो
अमेरिकी डलरमा अघिल्लो वर्षको यही अवधिमा एक अर्ब १३ करोड रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ५३ करोड रुपैयाँले बचतमा रहेको छ । यस्तै, चालु खाता एक खर्ब ४३ अर्ब ४२ करोड रुपैयाँले बचतमा रहेको छ ।
अघिल्लो वर्षको यही अवधिमा चालु खाता ९७ अर्ब १० करोड रुपैयाँले बचतमा रहेको थियो । समीक्षा अवधिमा पाँच अर्ब ७६ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह तीन अर्ब ६५ करोड रुपैयाँ रहेको थियो ।
गन्तव्यका आधारमा भारततर्फको निर्यातमा आठ दशमलव चार प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फ १८ दशमलव तीन प्रतिशत र अरु देशतर्फ तीन प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थे्रड, पार्टिकल बोर्ड, पिनालगायत वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिङ्क सिट, तयारी पोशाक, जुस, अदुवालगायत वस्तुको निर्यात घटेको छ ।
यस्तै कुल वस्तु आयात शून्य दशमलव दुई प्रतिशतले बढेर पाँच खर्ब १३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा यस्तो आयातमा तीन दशमलव आठ प्रतिशतले कमी आएको थियो ।
वस्तुगत आधारमा यातायात उपकरण, गाडी तथा गाडीका स्पेयर पार्टस, खानेतेल, स्पन्ज आइरन, लसुन, दूरसञ्चार उपकरण तथा पार्टस्लगायत वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, सुन, कच्चा पाम तेल, हवाईजहाज स्पेयर पार्टस, विद्युतीय उपकरण लगायत वस्तुको आयात घटेको छ ।
निर्याततर्फ भैरहवा, विराटनगर, वीरगञ्ज, सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज र रसुवा भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ ।
यस्तै चालु आर्थिक वर्षको चार महिनामा विदेशी मुद्राको सञ्चिति २२ खर्ब ५५ अर्ब ३५ करोड रुपैयाँ बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार विदेशी विनिमय सञ्चिति १० दशमलव पाँच प्रतिशतले बढेको छ ।
केन्द्रीय बैंकका अनुसार गएको असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चितिमा १० दशमलव पाँच प्रतिशतले बढेर गएको कात्तिक मसान्तमा २२ खर्ब ५५ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया