कृष्ण गङ्गा घाटमा समाजसेवी कर्ण बहादुर कटुवालद्वारा जमिन दान
गौरादह–१ निवासी तथा दानविरको रूपमा ख्याति कमाएका समाजसेवी कर्ण बहादुर कटुवालले कृष्ण गङ्गा घाटमा जमिन दान गरेर समाजसेवाको उज्ज्वल उदाहरण प्रस्तुत गर्नुभएको छ। देवीभागवत महापुराणको पावन अवसर पारेर कटुवालले यो पुण्य कार्य सम्पन्न गर्नुभएको हो।

घाट व्यवस्थापन समितिले खरिद गर्ने सर्तमा हाल उक्त जमिनमा कृयापुत्री भवन निर्माण भइरहेको छ। जग्गा दान प्राप्त भएपछि समितिले जग्गा खरिद गर्दा हुने आर्थिक व्ययभार घटेको छ । उक्त जमीन प्राप्ति सँगै अब घाट व्यवस्थापन समितिले फराकिलो जमीनमा आवश्यक संरचना निर्माण गर्न सक्ने सुविधा मिलेको वडाध्यक्ष भण्डारी बताउनुहुन्छ ।
स्थानीय बासिन्दालाई आवश्यक सेवा उपलब्ध गराउनेछ। समाजसेवा र विकासमा उल्लेखनीय योगदान पु¥याउँदै आएको कटुवाल परिवारको यस कदमलाई सम्मानस्वरूप आयोजित एक विशेष कार्यक्रमका बीच कर्ण बहादुर कटुवाल र वहाँका सुपुत्र भुपालराज कटुवाललाई संयुक्तरूपमा सम्मान गरिएको छ।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कटुवाल परिवारलाई सम्मान गर्दै, “बुबा कर्ण बहादुर कटुवालको समाजप्रतिको यो योगदान बर्षौसम्म चर्चा हुनेछ,” भन्नुभएको छ। उहाँले यस्ता समाजसेवी कदमहरूले गौरादह मात्र होइन, सिंगो प्रदेशकै गौरव बढाएको पनि उल्लेख गर्नुभयो।
कटुवाल परिवारको योगदान यत्तिमा मात्र सीमित छैन। गौरादहकै गौरवको रूपमा रहेको गोपेश्वर मन्दिरको निर्माण पनि यस परिवारको अथक प्रयास र आर्थिक सहयोगले सम्भव भएको हो। त्यसमाथि, यात्रुहरूको सुविधाका लागि निर्मित आकर्षक प्रतिक्षालयले समाजप्रतिको कटुवाल परिवारको निष्ठा र समर्पणलाई झल्काएको छ।



कृष्ण गङ्गा घाटमा जमिन दान, मन्दिर निर्माण, र प्रतिक्षालय स्थापना जस्ता कार्यहरूले कर्ण बहादुर कटुवाल र वहाँको परिवारले गौरादह क्षेत्रको समग्र विकासमा पुर्याएको योगदानलाई नयाँ उचाइमा पुर्याएको छ। यस्ता कार्यहरूले समाजमा प्रेरणा दिने र सामुदायिक सेवाको भावनालाई थप बलियो बनाउने विश्वास लिइएको छ।



प्रतिक्रिया