जनतासामु जनप्रतिनिधि: गौरादह नपा को एउटा अनुकरणीय अभियान
झापाको दक्षिणपश्चिम भेगमा अवस्थित गौरादह नगरपालिका कृषिमा आश्रित नगरपालिकाको रूपमा परिचित छ। यहाँका अधिकांश नगरवासीहरू जीवन निर्वाहका लागि अन्य पेशा व्यवसायमा संलग्न भए पनि खेतीपातीमा आधारित आम्दानी मुख्य रहँदै आएको छ। धान, मकै, तरकारी तथा विभिन्न बालीहरूको उत्पादनले नगरवासीहरूको आर्थिक अवस्था सबल बनाउँदै आएको छ।
गौरादह नगरपालिकामा खेतीपाती मात्र रोजगारीको माध्यम नभई स्थानीय संस्कृतिको अभिन्न अङ्ग पनि हो। यहाँका बासिन्दाहरू खेतीसँग जोडिएका परम्परागत अभ्यासलाई आधुनिक कृषि प्रविधिसँग समायोजन गर्न थालेका छन्। नगरपालिकाले कृषि सुधारका लागि बाली बीमा, पशु बीमा, र कृषक तालिमजस्ता कार्यक्रम सञ्चालन गरी कृषकहरूको जीवनस्तर सुधार्ने प्रयास गरिरहेको छ।
गौरादह नगरपालिकाले गतवर्षदेखि सञ्चालन गर्दै आएको "जनतासामु जनप्रतिनिधि" कार्यक्रमले जनताको र जनप्रतिनिधिहरूबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ। यस कार्यक्रमको मुख्य उद्देश्य नागरिकहरूलाई नगरपालिकाका सेवा र सुविधाबारे सचेत गराउनु तथा जनप्रतिनिधिहरूले गरेका कामहरूको पारदर्शिता सुनिश्चित गर्नु हो।
यस कार्यक्रममा जनताले आफ्ना गुनासा, समस्या, र सुझावहरू प्रत्यक्ष रूपमा जनप्रतिनिधिहरूसमक्ष राख्न पाउँछन्। नगरपालिकाका प्रमुख छत्रपति सुबेदी, वडा अध्यक्षहरू, तथा नगरपालिकाका अन्य प्रतिनिधिहरू नियमित रूपमा यो कार्यक्रममार्फत जनतासँग प्रत्यक्ष संवाद गर्छन्।
अन्य स्थानीय तहहरूका लागि उदाहरणीय पहल
गौरादहको यो पहलले अन्य स्थानीय तहहरूका लागि पनि एउटा अनुकरणीय नमूना प्रस्तुत गरेको छ। यसले जनताको विश्वास जित्न मात्र होइन, जनप्रतिनिधिहरूलाई जनभावना अनुरूप काम गर्न प्रेरित गरेको छ। कार्यक्रम सञ्चालनसँगै स्वास्थ्य शिविर, कृषि तालिम, र स्थानीय विकाससम्बन्धी परियोजनाहरूको जानकारीसमेत प्रदान गरिँदै आएको छ।
कृषिमा आधारित गौरादह नगरपालिका, आधुनिक प्रविधि र कार्यक्रममार्फत स्थानीय विकासको यात्रामा अगाडि बढिरहेको छ। "जनतासामु जनप्रतिनिधि" कार्यक्रमले जनताको सशक्तिकरण र सहभागितालाई सुनिश्चित गरेर स्थानीय तहको विकासको नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ।
गौरादह नगरपालिकाको यो सक्रियता र अग्रसरता अन्य तहहरूले पनि आत्मसात् गर्ने हो भने देशको विकास र सुशासनमा ठुलो योगदान हुने निश्चित छ।
गौरादह–७ मा जनता सँग जनप्रतिनिधि कार्यक्रम र स्वास्थ्य शिविर सम्पन्न
गौरादह, झापा — गौरादह नगरपालिका–७ को स्वास्थ्य चौकीमा आज "जनता संग जनप्रतिनिधि" कार्यक्रम तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ। कार्यक्रमसँगै आयोजित स्वास्थ्य शिविरमा दन्त, आँखा, र अन्य विभिन्न रोगहरूको निःशुल्क परीक्षण गरिएको थियो।
कार्यक्रमको अध्यक्षता नगर प्रमुख छत्रपति सुबेदीले गरेका थिए। कार्यालय प्रमुख यूबराज खतिवडा, वडा नं. १ का अध्यक्ष तथा नगर प्रवक्ता नगेंद्र भण्डारी, वडा नं. ४ का अध्यक्ष दुर्गा मणि बस्नेत, र वडा नं. ५ का अध्यक्ष जगन्नाथ खनालले कार्यक्रमको शोभा बढाएका थिए। कार्यक्रमको सञ्चालन वडा नं. ७ का अध्यक्ष बलराम खरेलले गरेका थिए।
गौरादह नगरपालिकाले सञ्चालन गर्दै आएको "जनता संग जनप्रतिनिधि" कार्यक्रम स्थानीयस्तरमा लोकप्रिय बन्न सफल भएको छ। यस कार्यक्रमले नागरिकहरूलाई नगरपालिकाबाट उपलब्ध सेवाहरूको जानकारी दिने मात्र होइन, जनप्रतिनिधिहरूले गरेका कार्यहरूको मूल्यांकन गर्ने अवसर पनि प्रदान गरेको छ।
स्वास्थ्य शिविरमा स्थानीयवासीहरूले स्वास्थ्य सेवा प्राप्त गर्न सहज अनुभव गरेका छन्। यस्ता कार्यक्रमले जनताको इच्छा र भावना अनुसार काम गर्न जनप्रतिनिधिहरूलाई मार्गदर्शन गर्ने विश्वास स्थानीयहरूले व्यक्त गरेका छन्। जनताको सुझाव र आवश्यकता सुनेर काम गर्ने यो अभियानलाई आगामी दिनमा अझै प्रभावकारी बनाउने योजना रहेको नगरपालिकाले जनाएको छ।
प्रतिक्रिया