बौद्धमा मोक्तानमाथि खुकुरी प्रहार गर्ने समूह पक्राउ
२२ भदौ, काठमाडौं । गत १२ साउनको राति बौद्धको बाहुनधारामा जीतबहादुर मोक्तानमाथि भएको अन्धाधुन्ध खुकुरी आक्रमणमा संलग्न तीन जना पक्राउ परेका छन्।
काभ्रेको रोशी गाउँपालिका–१० घर भई बौद्धमा बस्दै आएका मोक्तान नयाँ बस्तीस्थित क्याफेमा खाजा खाएर घर फर्कँदै गर्दा मोटरसाइकलमै चार जनाको समूहले पेट, ढाड र हातमा खुकुरी प्रहार गरेको थियो। घाइते मोक्तानलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पु¥याइएपछि लामो समय बी एण्ड बी अस्पतालमा उपचार गरेर घर फर्किएका थिए।

आक्रमणपछि फरार रहेका अभियुक्तलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दिल्ली प्रहरीको सहयोगमा पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल–१ बाँसखर्क घर भई जोरपाटी बस्ने २५ वर्षीय लोब्साङ तामाङ, नुवाकोट शिवपुरी–१ घर भई जोरपाटी बस्ने ३३ वर्षीय छुमन भनिने सुमन ब्लोन तामाङ र ३४ वर्षीय कुमार ब्लोन तामाङ छन्। उनीहरू विरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा पक्राउ पुर्जी जारी भएको थियो।
प्रहरीका अनुसार आक्रमणको मुख्य योजनाकार लोब्साङ हुन्। उनले मोक्तानले दिउँसो आफ्ना बाबु अशोकलाई पिटेकै कारण बदला लिन राति आक्रमण गरेको स्वीकार गरेका छन्। प्रहरीले भने यसबाहेक पनि उनीहरूबीच जुवा खेल्ने विवाद, सामाजिक सञ्जाल र युवतीसम्बन्धी विवाद रहेको आशंका गरेको छ।

लोब्साङ नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दल सिन्धुपाल्चोकका सदस्य रहेको खुलेको छ। उनी अध्यक्ष सञ्जय लामा (झिंगे) का निकट मानिन्छन्। प्रहरीका अनुसार लोब्साङ पछिल्लो समय बौद्ध–जोरपाटी क्षेत्रमा गुण्डागर्दी गर्दै आएका थिए। यसअघि उनले माकलबारीमा एक स्नुकर हाउसमा हेल्मेट प्रहार गरेको मौखिक उजुरीसमेत आएको जनाएको छ।
प्रतिक्रिया