जेनजी आन्दोलनका प्रतिनिधि जंगीअड्डामा, राष्ट्रपति पौडेलको आह्वानपछि संवाद प्रक्रिया सुरु
सोमबार र मंगलबारको लगातारको तनावपछि उत्पन्न जटिल परिस्थितिलाई चिर्न राष्ट्रपति रामचन्द्र पौडेलले संवादका लागि आह्वान गरेपछि जेनजी आन्दोलनका प्रतिनिधिहरु बुधबार नेपाली सेनाको मुख्यालय जंगीअड्डामा पुगेका छन्।
सैनिक स्रोतका अनुसार करिब १५–१६ जना युवा जेनजी आन्दोलनका प्रतिनिधिका रूपमा भद्रकालीस्थित सैनिक मुख्यालय पुगेका हुन्। “राष्ट्रपतिज्यूको आग्रहपछि हामीले सम्पर्कको पहल गरेका थियौं, त्यसैको क्रममा आज (बुधबार) उनीहरूलाई बोलाइएको हो,” एक उच्च सैन्य अधिकारीले जानकारी दिए।

मुख्यालय पुगेका प्रतिनिधिहरुले प्रारम्भमा प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका थिए। भेटमा सेनापतिले वार्ता प्रक्रियामा सबैको आवाज समेटिने खालको एकमत आवश्यक रहेको बताए।
“यो विषम परिस्थितिमा संवादलाई परिणाममुखी बनाउनुपर्ने हुन्छ, त्यसैले तपाईंहरू आ–आफसमा छलफल गरेर एकमत भएर वार्ताको टेबलमा बस्न तयार हुनुपर्छ,” सिग्देलको भनाइ उद्धृत गर्दै स्रोतले जनायो।
प्रधानसेनापतिसँगको भेटपछि जेनजी प्रतिनिधिहरु हाल जंगीअड्डाभित्रै छुट्टै छलफलमा व्यस्त रहेका छन्। सेनाले उनीहरुलाई औपचारिक संवादका लागि एकजना संयोजक तोक्न समेत सुझाव दिएको बताइएको छ।

राजधानीलगायत विभिन्न शहरमा पछिल्ला दिनमा भएका हिंसात्मक प्रदर्शनका कारण राजनीतिक वातावरण तनावपूर्ण बनेको अवस्थामा सेनाको उच्च सुरक्षा क्षेत्रमै जेनजी आन्दोलनका प्रतिनिधि पुगेको घटना संवादतर्फको महत्वपूर्ण प्रारम्भका रूपमा हेरिएको छ।
प्रतिक्रिया