गाजामा आन्तरिक झडप : हमास र दुघमुश परिवारबीच गोली हानाहान, २७ जनाको मृत्यु
गाजा ।
गाजा सहरमा हमासका सुरक्षा बल र दुघमुश परिवारका सशस्त्र सदस्यहरूबीच भएको भीषण झडपमा कम्तीमा २७ जनाको मृत्यु भएको छ।
इजरायली सैन्य कारबाही समाप्त भएपछि गाजाभित्र भएको यो सबैभन्दा हिंसक आन्तरिक झडप मानिएको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार सहरको जोर्डन अस्पताल नजिकै मास्क लगाएका हमासका बन्दुकधारीहरूले दुघमुश समूहका सदस्यहरूमाथि गोली चलाएका थिए।
हमास–नियन्त्रित आन्तरिक मन्त्रालयका एक वरिष्ठ अधिकारीले सुरक्षा युनिटले उनीहरूलाई घेरेर नियन्त्रणमा लिन खोज्दा ठूलो भिडन्त भएको बताए।
मन्त्रालयका अनुसार, ‘एक सशस्त्र मिलिसियाको आक्रमण’ मा हमासका आठ सुरक्षा सदस्य मारिएका छन्।
चिकित्सा स्रोतहरूका अनुसार शनिबारदेखि सुरु भएको लडाइँमा दुघमुश परिवारका १९ सदस्य र हमासका आठ लडाकु मारिएका हुन्।
झडप तेल अल–हावा क्षेत्रमा भएको हो।
एक स्थानीय बासिन्दाले भने —
“यसपटक मानिसहरू इजरायली आक्रमणबाट भागिरहेका थिएनन्, उनीहरू आफ्नै मानिसबाट भागिरहेका थिए।”
गाजाको प्रभावशाली परिवारमध्ये एक दुघमुश परिवार र हमासबीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको बताइन्छ।
हमासले आफ्नो फौजले “कानुन र व्यवस्था पुनर्स्थापित गर्न” कारबाही गरेको दाबी गरेको छ।
हमास र दुघमुश दुवैले झडप सुरु गराएकोमा एक–अर्कालाई दोष लगाएका छन्।
हमासका अनुसार, दुघमुश समूहले आफ्ना दुई लडाकु मारेपछि कारबाही सुरु गरिएको हो।
तर, दुघमुश परिवारका स्रोतले भने हमासले अस्पताललाई आफ्नो नयाँ अड्डा बनाउनका लागि परिवारलाई जबरजस्ती बाहिर निकाल्न खोजेको दाबी गरेका छन्।
इजरायली सेना गाजाबाट हटेपछि हमासले पुनः आफ्नो नियन्त्रण बलियो बनाउन करीब ७ हजार सुरक्षाकर्मी फिर्ता बोलाएको स्थानीय स्रोतहरूले बताएका छन्।
स्थानीय विश्लेषकहरूका अनुसार इजरायली आक्रमणपछि गाजामा सत्ताको रिक्तता देखिएको छ, जसले आन्तरिक शक्ति संघर्षलाई उकासेको हो।
प्रतिक्रिया