‘फ्री तिब्बत’ जोडिँदा जेनजी अभियन्तामाथि निगरानी कडा
काठमाडौं, २७ असोज । जेनजी आन्दोलनका क्रममा ‘फ्री तिब्बत’ अभियानसँग सम्बन्धित व्यक्ति देखिएपछि सरकारले निगरानी कडा बनाएको छ। आन्दोलनमा टीओबी (Tibetan Origin Blood) लेखिएको पोशाकमा देखिएका केही व्यक्तिहरूले हुलदंगा गरेको भिडियो सार्वजनिक भएपछि गृह मन्त्रालय र सुरक्षा निकायहरू सतर्क बनेका हुन्।
सुरक्षा निकायका अनुसार जेनजी अभियन्ता सुदन गुरुङमाथि पनि हाल निगरानी बढाइएको छ। उनलाई ‘फ्री तिब्बत’ अभियानसँग जोडिएको आशंका गरिएको भए पनि उनले सामाजिक सञ्जालमार्फत त्यसको खण्डन गरेका छन्। गुरुङले आफू उक्त अभियानसँग कुनै सम्बन्ध नभएको र टिओबी समूहका सदस्यहरूलाई नचिन्ने बताएका छन्।

गृह मन्त्रालयले यो विषय गम्भीर भएको भन्दै जोकोही शंकास्पद व्यक्तिमाथि निगरानी गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ। सह–प्रवक्ता र सूचना अधिकारी रवीन्द्र आचार्यले भने, “सुरक्षा अंगहरूलाई आवश्यक निर्देशन दिइसकिएको छ, अनुसन्धान भइरहेको छ।”
स्रोतका अनुसार सादा पोसाकका प्रहरी टोलीले गुरुङका गतिविधिमाथि कडा निगरानी गरिरहेका छन्। उनका समूहबाहेक अन्य जेनजी अभियन्ताहरूले पनि गुरुङले आन्दोलनको नेतृत्व आफ्नो पक्षमा तान्ने प्रयास गरेको भन्दै असन्तुष्टि जनाएका छन्।

फ्री तिब्बतसँग सम्बन्धित विषय उठेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत सतर्क बनेका छन्। नेपाल प्रहरीका प्रवक्ता डिआइजी विनोद घिमिरेले भने, “यो संवेदनशील विषय हो। जोसुकै संलग्न भए पनि अनुसन्धान हुन्छ।”
यसैबीच, टीओबी समूहसँग सम्बन्धित तीन जना युवालाई हतियारसहित आन्दोलनमा सहभागी भएको आरोपमा प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

भदौ २३ र २४ गतेको आन्दोलनपछि फ्री तिब्बतको नारासँग जोडिएको भिडियो र फोटो सार्वजनिक भएपछि यो प्रकरणले राजनीतिक तहसम्म चासो पाएको हो।
प्रतिक्रिया