देशभर बदली, धेरै ठाउँमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज (शनिबार) दिनभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।

त्यसैगरी, कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ । मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा धेरै भारी वर्षा समेत हुने सम्भावना महाशाखाले जनाएको छ ।
आज राति पनि अधिकांश प्रदेशमा बदली रहने र मध्यमदेखि भारी वर्षा हुने प्रक्षेपण गरिएको छ ।

महाशाखाले धेरै भारी वर्षाको सम्भावना रहेको स्थानमा उच्च सतर्कता अपनाउन आग्रह गर्दै, पछिल्लो मौसमी जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
प्रतिक्रिया