बाढीले क्षतिग्रस्त वीपी राजमार्ग आजदेखि पूर्ण रूपमा सञ्चालनमा
काभ्रेपलाञ्चोक। — गत साताको भीषण बाढीले क्षतिग्रस्त बनाएको वीपी राजमार्ग आजदेखि पूर्ण रूपमा यातायातका लागि सञ्चालनमा आएको छ। राजमार्गका विभिन्न खण्डमा अस्थायी सडक निर्माण कार्यलाई तीव्रता दिइएपछि १९ स्थानमा ‘डाइभर्सन’ तयार गरी राजमार्ग सञ्चालनमा ल्याइएको हो।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार, शुक्रबार साँझ क्षतिग्रस्त सम्पूर्ण खण्डमा ‘ट्रयाक’ खोलिएको र परीक्षणपछि आज बिहानदेखि राजमार्ग पूर्ण रूपमा खुलाइएको हो। कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार राति पनि निरन्तर काम गरेर आज बिहानैदेखि सवारीसाधन सञ्चालन सम्भव भएको हो।

शुक्रबार साँझसम्ममा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडादेखि रोशी गाउँपालिकाको माम्तीसम्मको सडकखण्डमा ट्रयाक खोलिएको थियो। कार्यालयले चौकीडाँडा, कटुञ्जे–घुमाउने, चारसयबेँसी, गिम्दीबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेँसी, पिप्ले र माम्ती क्षेत्रका विभिन्न स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरी राजमार्ग पुनः सञ्चालन गरेको जनाएको छ।
काभ्रेपलाञ्चोक खण्डमा १६ स्थान र सिन्धुली खण्डमा ३ स्थानमा डाइभर्सन बनाइएको छ। बाढीका कारण रोशी खोलाले करिब चार किलोमिटर सडक कटान गरेको थियो। त्यसपछि अस्थायी रूपमा ‘डाइभर्सन’ बनाएर राजमार्ग सञ्चालनमा ल्याइएको हो।

इञ्जिनियर योगेशका अनुसार मङ्गलबारदेखि औपचारिक रूपमा डाइभर्सन निर्माण कार्य सुरु गरिएको थियो। बिहीबार दिउँसोदेखि रातिसम्म दुई दर्जन मेसिन प्रयोग गरी अस्थायी सडक निर्माण कार्य निरन्तर गरिँदै आएको थियो। बाढीपहिरोले राजमार्गका १७ स्थानमा क्षति पुर्याएको बताइएको छ।
यसअघि पनि गत वर्षको बाढीपहिरोपछि सोही क्षेत्रमा अस्थायी डाइभर्सन बनाएर सडक सञ्चालन गरिएको थियो।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बिहीबार क्षतिग्रस्त राजमार्गका विभिन्न भागको अवलोकन गर्दै छिटोभन्दा छिटो यातायात सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए। उनले राति काम गरेर भए पनि शुक्रबार बेलुकासम्ममा सडक सञ्चालनमा ल्याउने निर्देशन दिएका थिए।
पूर्वी नेपाललाई छोटो दूरीमा जोड्ने महत्वपूर्ण राजमार्गको रूपमा वीपी राजमार्गबाट दैनिक हजारौँ सवारीसाधन चल्ने गर्छन्। हाल सडक विभागले क्षतिग्रस्त भागको स्थायी पुनर्निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अघि बढाइरहेको जनाएको छ।
प्रतिक्रिया