मंसिर ०३ २०८२, मंगलबार

जनकपुरधामको रुपैठामा दुर्गा प्रतिमा विसर्जनका क्रममा दुई समुदायबीच झडप, कर्फ्यु आदेश जारी

Ads

जनकपुरधाम । धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–२०, देवपुर रुपैठामा दुर्गा प्रतिमा विसर्जनको क्रममा शुक्रबार साँझ हिन्दु र मुस्लिम समुदायबीच पुनः झडप भएको छ ।

दशैं समापनपछि दुर्गा प्रतिमा विसर्जनमा अवरोध भएपछि सुरु भएको विवाद चर्किँदा ढुङ्गामुढासहित भीड नियन्त्रणभन्दा बाहिर गएको थियो । यस क्रममा एक समूहले तेलिया पोखरीको डिलमा रहेको टहरामा आगजनी गरेको र केही घरमा समेत आगजनीको प्रयास भएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जीव यादवले जानकारी दिए ।

Ads

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूले २३ राउन्ड अश्रुग्याँस प्रहार गर्नुपरेको प्रहरीको भनाइ छ । झडपमा केही प्रहरीसहित स्थानीयहरू घाइते भएका छन् ।

घटनापछि प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले साँझ ६:३० बजेदेखि लागू हुने गरी रुपैठा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका छन् । आदेशअनुसार पूर्वमा लोहना जाने बाटो, पश्चिममा बसहिया जाने बाटो, उत्तरमा बाबा पेट्रोल पम्प सिक्सलेन र दक्षिणमा गंगुली पुलसम्मको क्षेत्रमा सभा, जुलुस, भेला वा कुनै पनि सामूहिक गतिविधि पूर्णतया निषेध गरिएको छ ।

Ads

गत महिना गणेश प्रतिमा विसर्जनका क्रममा पनि त्यही समुदायबीच झडप भएको थियो । फेरि दशैंमा दुर्गा प्रतिमा विसर्जनको क्रममा विवाद चर्किएपछि रुपैठा पुनः तनावग्रस्त बनेको हो ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार