अजरबैजानी विमान दुर्घटना रुसकै कारण भएको पुटिनको स्वीकारोक्ति
काठमाडौं । सन् २०२४ मा भएको अजरबैजानको यात्रुवाहक विमान दुर्घटना रुसकै कारण भएको कुरा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलो पटक सार्वजनिक रूपमा स्वीकार गरेका छन्।
अजरबैजानका राष्ट्रपति इल्हाम अलियेवसँग बिहीबार भएको भेटमा पुटिनले रुसले युक्रेनी ड्रोनलाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेको र उक्त मिसाइल अजरबैजान एयरलाइन्सको विमान नजिकै विस्फोट भएको बताएका हुन्।

पुटिनले भने, “रुसले यस्तो दुखद घटनामा क्षतिपूर्ति प्रदान गर्न आवश्यक सबै कदम चाल्नेछ र यसमा संलग्न अधिकारीहरूको कानुनी मूल्याङ्कन गरिनेछ।”
उक्त ‘एम्ब्रेयर १९०’ विमान अजरबैजानको राजधानी बाकुबाट रुसको चेचन्याको ग्रोज्नी सहरतर्फ उडान भर्ने क्रममा क्यास्पियन समुद्र पार गर्दै काजाकिस्तानको अकताउ नजिक दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनामा सवार ६७ जनामध्ये २९ जनाको जीवितै उद्धार गरिएको थियो भने ३८ जनाको मृत्यु भएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा विमान दुर्घटनाको कारण शङ्कास्पद रहेको र सम्भावित मिसाइल आक्रमणको संकेत देखिएको उड्डयन विज्ञहरूले बताएका थिए।
प्रतिक्रिया