मनसुन नेपालबाट पूर्णरूपमा बाहिरियो
२५ असोज, काठमाडौं। — यस वर्षको मनसुन नेपालका सम्पूर्ण भू–भागबाट पूर्ण रूपमा बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारदेखि नेपालबाट मनसुन समाप्त भएको हो।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको महाशाखाले जनाएको छ। तर मनसुनको सामान्य प्रभाव भने कायमै रहेकाले पूर्वी नेपालका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मुख्यतः सफा मौसम रहनेछ।
कोशी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

आज राति कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मुख्यतः सफा मौसम रहने पूर्वानुमान गरिएको छ।

प्रतिक्रिया