श्रावण १५ २०८३, शुक्रबार

अब नोबेल र केएमसी अस्पतालमा छुटै छुट

 

 

गौरादह । स्वास्थ्य उपचारको खर्च दिनप्रतिदिन महँगिँदै जाँदा सामान्य आय भएका परिवारका लागि ठूलो अस्पताल पुग्नु नै चुनौती बन्ने गरेको छ। उपचार खर्चकै कारण धेरै बिरामीले समयमै उपचार नपाउने अवस्था पनि नौलो होइन। यही वास्तविकतालाई मध्यनजर गर्दै गौरादह नगरपालिकाले आफ्ना नागरिकका लागि राहतको अनुभूति दिलाउने महत्त्वपूर्ण कदम चालेको छ।
गौरादह नगरपालिका र विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रा.लि. तथा काठमाडौँ मेडिकल कलेज (केएमसी) लिमिटेड बीच उपचारमा विशेष सहुलियत प्रदान गर्ने सम्झौता भएको छ। सम्झौताले अब गौरादहका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा तुलनात्मक रूपमा कम खर्चमा प्राप्त गर्ने बाटो खोलिदिएको छ।
सम्झौताअनुसार नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा लगायत उपलब्ध उपचार सुविधा उपयोग गरिसकेका, स्वास्थ्य बीमा नगरेका वा बीमा सक्रिय हुनुअघि उपचार आवश्यक परेका बिरामीले नोबेल मेडिकल कलेजमा शल्यक्रियासहितका सेवामा २० प्रतिशत छुट पाउनेछन्। त्यसैगरी, काठमाडौँ मेडिकल कलेजमा २५ प्रतिशत तथा भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गराउँदा ५० प्रतिशतसम्म छुट सुविधा उपलब्ध हुनेछ।
यो सम्झौतामा गौरादह नगरपालिकाका तर्फबाट कार्यवाहक नगर प्रमुख जलवर्षा राजबंशी चौधरी ले २०८३ साउन १३ गते हस्ताक्षर गर्नुभएको हो। नगरपालिकाको पहलले विशेषगरी आर्थिक रूपमा कमजोर, दीर्घरोगी तथा विशेषज्ञ उपचार आवश्यक पर्ने नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।
स्वास्थ्य बीमा कार्यक्रम सबै नागरिकका लागि उपयोगी भए पनि कतिपय अवस्थामा बीमाले नसमेट्ने सेवा, बीमा सकिएको अवस्था वा बीमा सक्रिय नहुँदाको समयमा बिरामीले ठूलो आर्थिक भार व्यहोर्नुपर्ने बाध्यता रहँदै आएको छ। यस्तो अवस्थामा नगरपालिकाले ल्याएको सहुलियत कार्यक्रम धेरै परिवारका लागि राहत बन्न सक्छ।
सहुलियत सुविधा प्राप्त गर्न चाहने नागरिकले गौरादह नगर अस्पतालबाट सिफारिस पत्र लिनुपर्नेछ। साथै, आफ्नो ठेगाना खुल्ने परिचयपत्र, नागरिकताको प्रतिलिपि तथा १६ वर्षमुनिका बालबालिकाका हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
स्थानीय सरकारको काम केवल सडक, भवन र पूर्वाधार निर्माणमा मात्र सीमित हुँदैन। नागरिकको स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षामा प्रत्यक्ष प्रभाव पार्ने यस्ता पहल नै जनप्रतिनिधिको उत्तरदायित्वको वास्तविक मापन हुन्। गौरादह नगरपालिकाले गरेको यो सम्झौताले उपचार खर्चको बोझ कम गर्नुका साथै गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्ने विश्वास गरिएको छ।
यदि यो सहुलियत प्रभावकारी रूपमा कार्यान्वयन भयो भने, यो केवल छुटको कार्यक्रम मात्र नभई स्थानीय सरकार र नागरिकबीच विश्वासको अर्को बलियो पुल बन्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार