गौरादहका नगरवासीलाई दन्त उपचारमा सहुलियत, आमा डेन्टल केयरसँग सम्झौता
गौरादह । गौरादह नगरपालिकाले नगरवासीलाई दन्त उपचारमा विशेष छुट तथा सहुलियत उपलब्ध गराउने उद्देश्यले दमक नगरपालिका–६ स्थित आमा डेन्टल केयर प्रा.लि.सँग औपचारिक सम्झौता गरेको छ।
२०८३ साल भदौ २४ गते भएको सम्झौतापत्रमा गौरादह नगरपालिका र आमा डेन्टल केयर प्रा.लि.का प्रतिनिधिले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार गौरादह नगरपालिकाभित्र बसोबास गर्ने नागरिकले आमा डेन्टल केयरमा दन्त उपचार गराउँदा निःशुल्क ओपीडी सेवा प्राप्त गर्नुका साथै थप उपचारमा समेत विशेष छुट तथा सहुलियत पाउनेछन्।

नगरपालिकाका अनुसार सहुलियत प्राप्त गर्न बिरामीले आफ्नो गौरादह नगरपालिका क्षेत्रको ठेगाना खुल्ने परिचयपत्र वा नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ। त्यस्तै, १६ वर्षमुनिका बालबालिकाका लागि जन्मदर्ताको प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
नगरपालिकाले नगरवासीलाई सहज र सुलभ रूपमा दन्त स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निजी स्वास्थ्य संस्थासँग सहकार्य गरिएको जनाएको छ। सम्झौताबाट आर्थिक कारणले नियमित दन्त उपचार गराउन कठिनाइ भएका नगरवासीलाई समेत राहत पुग्ने अपेक्षा गरिएको छ।
नगरपालिकाले नगरवासीलाई सम्झौताबाट प्राप्त हुने सहुलियतको उपयोग गरी समयमै दन्त परीक्षण तथा उपचार गराउन आग्रह गरेको छ।
प्रतिक्रिया