वडाध्यक्षसहितको टोली घर–घरमा पुगेर स्वास्थ्य बीमा गर्दै, गौरादह–१ का ४० परिवार लाभान्वित हुने
गौरादह। गौरादह नगरपालिका–१ मा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ। स्वास्थ्य बीमाको पहुँचबाट बाहिर रहेका लक्षित परिवारलाई समेट्ने उद्देश्यले वडाध्यक्ष नगेन्द्र भण्डारीसहितको टोली घर–घरमै पुगेर स्वास्थ्य बीमा गराउन थालेको हो।
वडा कार्यालयले वडाभित्रका ४० परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने लक्ष्य राखेको छ। कार्यक्रमअन्तर्गत स्वास्थ्य बीमाका लागि लाग्ने शुल्कको ८० प्रतिशत वडा कार्यालयले र २० प्रतिशत सेवाग्राहीले बेहोर्ने व्यवस्था गरिएको वडाध्यक्ष भण्डारीले जानकारी दिए।
स्वास्थ्य बीमाको प्रक्रियाका लागि सेवाग्राहीलाई वडा कार्यालयसम्म बोलाउनेभन्दा पनि लक्षित परिवारकै घरमा पुगेर सेवा प्रदान गर्ने प्रयास गरिएको हो। यसले स्वास्थ्य बीमाबारे जानकारीको अभाव, कार्यालयसम्म पुग्नुपर्ने झन्झट तथा आर्थिक अवस्थाका कारण बीमामा आबद्ध हुन नसकेका परिवारलाई सहज हुने वडा कार्यालयको अपेक्षा छ।
वडाध्यक्ष भण्डारीसहितको टोलीले घर–घरमा पुगेर परिवारको विवरण संकलन गर्ने, स्वास्थ्य बीमाबारे जानकारी दिने तथा आवश्यक प्रक्रिया पूरा गराउने काम गरिरहेको छ।
स्थानीय तहबाटै स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष भण्डारीले बताए। आर्थिक रूपमा कमजोर परिवारले स्वास्थ्य उपचारका क्रममा ठूलो खर्च व्यहोर्नुपर्ने अवस्थालाई कम गर्न स्वास्थ्य बीमाले सहयोग पुर्याउने उनको भनाइ छ।
वडा कार्यालयका अनुसार कार्यक्रमअन्तर्गत छनोट भएका ४० परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गरिनेछ। बीमामा आबद्ध भएपछि सम्बन्धित परिवारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध स्वास्थ्य सेवाबाट लाभ लिन सक्नेछन्।
घरमै पुगेर स्वास्थ्य बीमा गराउने वडा कार्यालयको यो पहलले ‘सेवा लिन नागरिक कार्यालयमा होइन, सेवा लिएर वडा नागरिकको घरमा’ भन्ने स्थानीय सरकारको अवधारणालाई व्यवहारमा उतार्ने प्रयास गरेको देखिन्छ।





प्रतिक्रिया