आश्विन १८ २०८३, आइतबार

बिराटनगरबाट प्राविधिक टोली बोलाएर सारथि युवा क्लबले गर्यो रक्तदान कार्यक्रम

गौरादह । रक्तदान जीवन बचाउने अभियान हो। एक जनाले दिएको रगतले आपत्कालीन अवस्थामा अर्काे व्यक्तिको ज्यान जोगाउन सक्छ। त्यसैले रक्तदान कार्यक्रम आयोजना गर्ने स्थानीय संघ–संस्था र प्राविधिक सेवा उपलब्ध गराउने रक्तसञ्चार केन्द्रबीचको सहकार्यलाई सामाजिक सेवाको महत्वपूर्ण आधार मानिन्छ।
झापाको गौरादहमा पछिल्लो समय विभिन्न संघ–संस्थाले नियमितजसो रक्तदान कार्यक्रम आयोजना गर्दै आएका छन्। यस्ता कार्यक्रममा स्थानीयको उत्साह पनि उल्लेख्य देखिन्छ। तर, गौरादहमा आयोजना हुने रक्तदान कार्यक्रमका लागि प्राविधिक टोली भने एउटै केन्द्रबाट आउने गरेको छैन। कहिले दमक, कहिले बिर्तामोड र कहिले विराटनगरबाट प्राविधिक टोली बोलाइने गरेको पाइन्छ।
आइतबार पनि सारथि युवा क्लबले गौरादहको डिपु चोकमा वृहत् रक्तदान कार्यक्रम आयोजना गर्‍यो। कार्यक्रममा स्थानीयहरू उत्साहपूर्वक सहभागी भए। कार्यक्रमको प्राविधिक सहयोग भने रक्तसञ्चार केन्द्र विराटनगरले गरेको थियो।
गौरादहका लागि भौगोलिक रूपमा नजिक पर्ने दमकमा नेपाल रेडक्रसअन्तर्गतको रक्तसञ्चार केन्द्र सञ्चालनमा छ। अनुभवी र दक्ष प्राविधिक टोली तथा संकलित रगत भण्डारणको व्यवस्था रहेको दमक केन्द्रले यसअघि गौरादहका विभिन्न रक्तदान कार्यक्रममा प्राविधिक सहयोग गर्दै आएको थियो। यातायात र भौगोलिक सुगमताका हिसाबले पनि गौरादहका लागि दमक सहज मानिन्छ।
तर अहिले गौरादह र छिमेकी गौरिगञ्जमा आयोजना हुने रक्तदान कार्यक्रमका लागि विराटनगरलगायत अन्य स्थानबाट समेत प्राविधिक टोली आउने क्रम बढेको छ। यसलाई दमक रक्तसञ्चार केन्द्रले सहयोग गर्न नसकेको वा सहयोग गर्न अस्वीकार गरेको अवस्थाका रूपमा बुझ्नु भने उचित नहुने सम्बन्धित पक्षहरू बताउँछन्। दमक केन्द्रसँग दक्ष जनशक्ति रहेको र संघ–संस्थासँगको सहकार्यमा पनि खासै गुनासो नरहेको उनीहरूको भनाइ छ।
त्यसो भए प्रश्न उठ्छ- गौरादहमा रक्तदान कार्यक्रमका लागि प्राविधिक टोली छनोटको आधार के हो ?
‘विराटनगरसँग समन्वयका लागि पनि हो’
सारथि युवा क्लबका अध्यक्ष गोविन्द कँडेलका अनुसार विराटनगरबाट प्राविधिक टोली बोलाउनुको एउटा कारण गौरादहबाट उपचारका लागि विराटनगर जाने बिरामीको संख्या पनि हो।
कँडेल भन्छन्, “गौरादहबाट विराटनगरका अस्पतालमा उपचार गर्न जानेको संख्या उच्च छ। इमर्जेन्सीको समयमा चाहिने रगतको जोहो गर्न पनि विराटनगर रक्तसञ्चार केन्द्रसँग समन्वय गर्नकै लागि उहाँहरूलाई बोलाइएको हो।”
उनका अनुसार सारथिले यसअघि ग्वालडुब्बामा पनि रक्तदान कार्यक्रम आयोजना गरेको थियो। त्यतिबेला भने रक्तदान कार्यक्रमको स्थान र समयलाई लिएर दमक रक्तसञ्चार केन्द्रसँग सम्बन्धित विषयमा आफूहरूले असहज महसुस गरेको कँडेलको भनाइ छ।
“हामीले ग्वालडुब्बामा रक्तदान कार्यक्रम आयोजना गर्‍यौं। रेडक्रस गौरादह उपशाखासँग समन्वय नै नगरी प्रतिस्पर्धात्मक रूपमा सोही ठाउँमा एउटै समयमा अचानक दमक रक्तसञ्चारको टोली आयो। हामीले डिस्टर्ब भएको महसुस गर्‍यौँ,” उनी भन्छन्, “हामीले सामाजिक सेवा गरेका हौँ। फरक मितिमा गरेको भए हुन्थ्यो। दमक रक्तसञ्चारले रेडक्रस उपशाखा गौरादहसँग समन्वय नगरी किन आयो होला भन्ने हामीलाई अचम्म लाग्यो। यस्तो गर्नु कसैका लागि पनि उत्तम होइन।”
कँडेलको भनाइमा रक्तदानलाई प्रतिस्पर्धाका रूपमा नभई सहकार्य र समन्वयका रूपमा अघि बढाउनुपर्ने आवश्यकता छ।
खर्च व्यवस्थापन पनि आयोजकका लागि महत्वपूर्ण
गौरादहमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएका सामाजिक संघ–संस्थाका लागि प्राविधिक सहयोगसँगै आर्थिक व्यवस्थापन पनि महत्वपूर्ण पक्ष हो।
गौरादह लायन्सका पूर्वअध्यक्ष तथा समाजसेवी किशोर केसीका अनुसार विराटनगरबाट आउने प्राविधिक टोली तुलनात्मक रूपमा सानो संख्यामा आउने भएकाले आयोजकको खर्चसमेत कम हुने गरेको छ।
“विराटनगरको टोली आउँदा सानो संख्यामा प्राविधिक टोली आएर सेवा दिँदा आयोजकको खर्च पनि बचत हुन्छ। खाजा र खानामा हुने खर्च पनि बचत हुन्छ। यो कुरा कुनै पनि सामाजिक संस्थाका लागि ठूलो विषय हो,” केसी भन्छन्।
स्थानीय संघ–संस्थाहरू अधिकांश स्वयंसेवी प्रकृतिका हुने भएकाले उनीहरूको आर्थिक स्रोत पनि सीमित हुने गर्छ। सदस्यबाट संकलित रकम तथा सहयोगकै भरमा सामाजिक गतिविधि सञ्चालन गर्नुपर्ने अवस्थामा रक्तदान कार्यक्रमको व्यवस्थापन खर्चसमेत आयोजकका लागि महत्वपूर्ण बन्ने गरेको छ।
यही कारणले कतिपय संस्थाले आफूलाई सहज हुने प्राविधिक टोलीसँग सहकार्य गर्ने गरेको देखिन्छ।
दमक केन्द्रको भनाइ - ‘जुनसुकै टोली आए पनि सेवा एउटै हो’
रक्तसञ्चार केन्द्र दमकका प्रवर्तक सिद्धार्थ दाहाल भने रक्तदान कार्यक्रममा जुनसुकै प्राविधिक टोलीले सेवा दिनुलाई अस्वाभाविक मान्न नहुने बताउँछन्।
उनका अनुसार दमक रक्तसञ्चार केन्द्रले गौरादहका धेरै संघ–संस्थालाई विगतदेखि नै प्राविधिक सहयोग गर्दै आएको छ।
“गौरादहका धेरै संघ–संस्थामा हामीले प्राविधिक सहयोग दिएका छौँ। विराटनगरबाट आउने प्राविधिक टोली लायन्स आबद्ध रक्तसञ्चार केन्द्रको टोली हो। लायन्स क्लबले आर्थिक सहयोगसमेत गरेर सेवा दिन्छ भन्ने मैले पनि सुनेको छु,” दाहाल भन्छन्।
उनले दमक केन्द्रले गर्ने सहयोग भने संस्थागत र नियमअनुसार हुने स्पष्ट पारे।
“उहाँहरूले गर्ने खर्च व्यक्तिगत होला, तर हामीले गर्ने सहयोग संस्थागत हो। नियमअनुसार जे सकिन्छ, त्यो गर्छौं,” दाहालको भनाइ छ।
तर यही विषयमा समाजसेवी किशोर केसीको अनुभव भने केही फरक छ। उनी विराटनगरको टोली सानो संख्यामा आएर काम गर्ने गरेको र दमकबाट आउने टोलीमा तुलनात्मक रूपमा धेरै जनशक्ति रहने गरेको बताउँछन्।
“हामीले नेपाल रेडक्रस सोसाइटीअन्तर्गतको रक्तसञ्चार केन्द्र विराटनगरको प्राविधिक टोली बोलाउँछौँ। उहाँहरू दुई–तीन जना आउनुहुन्छ, सेवा पनि राम्रै दिनुहुन्छ। तर दमक रक्तसञ्चारलाई बोलाउँदा सात–आठ जना किन आउनुपर्छ ?” केसी प्रश्न गर्छन्। रक्तसञ्चार केन्द्र दमकका प्रवर्तक सिद्वार्थ दाहाल भन्छन् - ५/६ जना प्राविधिकले मिलेर काम गर्दा समयको वचत हुने र संकलित रगत पनि सुरक्षित तरिकाले भण्डारण सम्म पुर्याउन सकिने उनको दावी छ।  उनको भनाइले प्रश्न उठ्छ - के रक्तसंचार केन्द्र विराटनगरले सुरक्षित भण्डारण सम्म संकलित रगत पुर्याउन सक्दैन ? यसमा ठट्टा गर्दै सारथि अध्यक्ष कँडेल भन्छन् - बैज्ञानिक तरिकाले संकलित रगत बैज्ञानिक तरिकालेनै भण्डारण हुन्छ भन्ने कुरामा बहस गर्नुको कुनै तुक छैन।  
‘कुनै पनि केन्द्र आए पनि उद्देश्य एउटै’
नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल भने रक्तदान कार्यक्रममा जुनसुकै प्राविधिक टोली आए पनि मुख्य उद्देश्य सेवा नै भएको बताउँछन्।
“जुनसुकै प्राविधिक टोली आए पनि कुरा एउटै हो, हामीले दिने सेवा नै हो,” ढकाल भन्छन्, “गौरादह होस् वा गौरिगञ्ज, हामी पनि आएकै हुन्छौँ। कहिलेकाहीँ फलफूलसमेत बोकेर आउँछौँ, कहिलेकाहीँ आयोजक संस्थाले आफैं पनि व्यवस्थापन गरेको हुन्छ।”
यसले रक्तदान अभियानमा प्राविधिक सहयोगको स्वरूप ठाउँ र आयोजकअनुसार फरक हुन सक्ने देखाउँछ।
प्रतिस्पर्धा होइन, सहकार्य आवश्यक
रक्तदान कार्यक्रमको वास्तविक केन्द्रमा भने प्राविधिक टोली, संस्था वा केन्द्र होइन - रक्तदाताले दिएको रगत हुन्छ। स्थानीय संघ–संस्थाहरू रक्त संकलनका महत्वपूर्ण माध्यम हुन् भने रक्तसञ्चार केन्द्रहरू त्यसलाई सुरक्षित रूपमा संकलन, परीक्षण, भण्डारण र आवश्यक स्थानमा उपलब्ध गराउने प्राविधिक आधार।
त्यसैले गौरादहमा दमक, विराटनगर वा अन्य कुनै केन्द्रबाट प्राविधिक सहयोग आउनु आफैंमा समस्या होइन। समस्या तब बन्न सक्छ, जब एउटै क्षेत्रमा काम गर्ने संस्थाबीच आवश्यक समन्वय नहुँदा एउटै उद्देश्य बोकेका अभियानहरूबीच प्रतिस्पर्धाको वातावरण सिर्जना हुन्छ।
स्थानीय संघ–संस्थाको सीमित आर्थिक स्रोत, रक्तसञ्चार केन्द्रहरूको जनशक्ति र स्रोत व्यवस्थापन तथा आकस्मिक अवस्थामा रगतको आवश्यकता, यी सबै पक्षलाई सँगै राखेर हेर्नुपर्ने देखिन्छ।
गौरादहमा रक्तदानको संस्कृति विस्तार हुँदै जानु सकारात्मक पक्ष हो। अब यसको अर्को चरण भनेको कुन केन्द्रले बढी कार्यक्रम गर्‍यो भन्ने प्रतिस्पर्धाभन्दा कुन संयन्त्रले बढी प्रभावकारी रूपमा रगत उपलब्ध गराउन सक्छ भन्ने सहकार्यको मोडेल विकास गर्नु हो।
किनकि अन्ततः रक्तदानको मञ्चमा संस्था फरक हुन सक्छन्, प्राविधिक टोली फरक हुन सक्छन्, सहयोग गर्ने केन्द्र फरक हुन सक्छन्,  तर उद्देश्य एउटै हो, एक पोका रगतले एक जीवन बचाउनु।

यी सबै प्रश्न उठ्नुको पछाडि रक्त संकलक कर्मचारी माथि प्रश्न उठ्न थाल्यो भने सिंगो रेडक्रस संस्थाको बदनामी हुने भएकोले पनि सरोकारवालाले समय मै सचेतना अपाउनु पर्ने देखिन्छ।  

 

May be an image of textMay be an image of ticket stub and textMay be an image of map, ticket stub and text

प्रतिक्रिया

सम्बन्धित समाचार
भाद्र २७ २०८३,शनिबार