भदौ ०३ २०८३, बुधवार

स्वास्थ्य बीमा अब अनलाइनबाटै आबद्धता र नवीकरण गर्न सकिने

 

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, बीमालेख नवीकरण तथा KYC विवरण अद्यावधिकलगायतका सेवा अनलाइनबाटै गर्न सकिने व्यवस्था औपचारिक रूपमा सुरु गरेको छ।
बोर्डका अनुसार २०८३ असार २९ गतेदेखि HIB e-Portal मार्फत स्वास्थ्य बीमासम्बन्धी विभिन्न सेवा विद्युतीय रूपमा लिन सकिने व्यवस्था कार्यान्वयनमा आएको हो। बोर्डले अनलाइन माध्यमबाट स्वास्थ्य बीमा नवीकरणको व्यवस्था सुरु गरेको विषयमा आधिकारिक सूचना पनि प्रकाशित गरेको छ।
नयाँ प्रणाली राष्ट्रिय परिचयपत्र (NID) सँग अन्तरआबद्ध हुने गरी तयार गरिएको बोर्डले जनाएको छ। राष्ट्रिय परिचयपत्र नभएका परिवारका सदस्यले समेत आवश्यक डिजिटल विवरण प्रविष्ट गरी सेवा लिन सक्ने व्यवस्था गरिएको छ।
अब बीमा आबद्धता तथा नवीकरणका लागि eSewa, Khalti र ConnectIPS मार्फत प्रिमियम भुक्तानी गर्न सकिनेछ। व्यक्ति स्वयं वा दर्ता सहयोगीमार्फत घरबाटै डिजिटल माध्यमबाट स्वास्थ्य बीमामा आबद्ध हुन तथा बीमालेख नवीकरण गर्न सक्नेछन्।
यसअघि स्वास्थ्य बीमा गरिसकेका परिवारले पनि आफ्नो परिवारमूलीको स्वास्थ्य बीमा नम्बर प्रयोग गरी अनलाइन प्रणालीमा जोडिएर KYC विवरण अद्यावधिक तथा बीमालेख नवीकरण गर्न सक्नेछन्।
बोर्डले कार्यालय तथा संगठित क्षेत्रबाट सामूहिक रूपमा गरिने Bulk Enrollment र Bulk Renewal का लागि समेत व्यवस्था गरेको जनाएको छ। जिल्ला तथा प्रदेश तहबाट प्रमाणीकरण र स्वीकृतिको प्रक्रिया पूरा भएपछि डिजिटल स्वास्थ्य बीमा कार्ड जारी गरिनेछ।


बोर्डका अनुसार विद्युतीय प्रणाली लागू भएपछि स्वास्थ्य बीमामा आबद्धता तथा नवीकरण प्रक्रिया थप सहज हुने, सेवाग्राहीको समय बचत हुने तथा सेवा प्रवाहमा पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ। साथै, KYC Update मार्फत बीमितका पुराना विवरण अद्यावधिक गर्न तथा तथ्याङ्कको शुद्धता सुधार गर्न पनि सहयोग पुग्ने बोर्डको विश्वास छ।
स्वास्थ्य बीमा बोर्डले पछिल्लो समय डिजिटल कार्डमार्फत स्वास्थ्य सेवा लिन सकिने व्यवस्थासमेत अघि बढाएको छ। बोर्डको आधिकारिक वेबसाइटमा नागरिक एप तथा HIB Profile एपमार्फत बनेका डिजिटल कार्ड प्रयोग गरी स्वास्थ्य बीमा सेवा लिन सकिने व्यवस्था रहेको उल्लेख छ।
अनलाइन सेवा लिन चाहने सेवाग्राहीले स्वास्थ्य बीमा बोर्डको HIB e-Portal प्रयोग गर्न सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित समाचार