भदौ ०१ २०८३, सोमबार

विभिन्न स्थानबाट लागूऔषधसहित २९ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध तथा नियन्त्रित लागूऔषधसहित २९ जनालाई पक्राउ गरेको छ। प्रहरीले ललितपुर, भक्तपुर, झापा, मोरङ, पर्सा, सर्लाही, चितवन, धनकुटा, कैलाली, बर्दिया, तनहुँ र महोत्तरीलगायतका जिल्लाबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट ब्राउनसुगर, खैरो हेरोइनजस्तो देखिने पदार्थ, गाँजा तथा ट्रामाडोल, नाइट्राजेपाम, डाईजेपाम, फेनारगन, बुप्रेनोर्फिनलगायत नियन्त्रित लागूऔषध बरामद भएको छ।

झापाको बिर्तामोड नगरपालिका–१ स्थित बिर्तासिटी अस्पताल अगाडिबाट ४ ग्राम ८ सय ९० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित २४ वर्षीय दावा गुरुङ पक्राउ परेका छन्।

त्यस्तै, दमक नगरपालिका–२ स्थित मातृभूमि पार्टी प्यालेस नजिकबाट ४ सय ७० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित २० वर्षीय पंकज कार्कीसहित दुई जना पक्राउ परेका छन्।

सर्लाहीको लालबन्दी नगरपालिका–१ बाट करिब २२ किलो ८ सय २० ग्राम गाँजासहित ३० वर्षीय सुशिल साहसहित तीन जना पक्राउ परेका छन्। उनीहरूलाई अटोमा सवार अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसैगरी सर्लाहीकै बसबरीया गाउँपालिका–१ बाट ७ सय ३९ ग्राम गाँजासहित ७५ वर्षीय राम प्यारे राय पक्राउ परेका छन्।

पर्साको वीरगंज महानगरपालिका–१५ बाट प्रहरीले करिब ५० ग्राम ७ सय मिलिग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पकाहा मैनपुर–४ का २४ वर्षीय सम्साद देवन र बिन्दबासिनी–५ का २२ वर्षीय सनप्राज शेख रहेका छन्।

यसैगरी वीरगंज–१६ बाट ४ सय ६० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पाँच जना पक्राउ परेका छन्।

भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली पुलबाट करिब १४ किलो गाँजासहित १९ वर्षीय राम लामासहित दुई जना पक्राउ परेका छन्। उनीहरू मोटरसाइकलमा सवार थिए।

यस्तै चितवनको भरतपुर–१२ बाट करिब दुई किलो गाँजा, ट्रामाडोल ९८ ट्याब्लेट र फेनारगन ११० एम्पुलसहित तीन जना पक्राउ परेका छन्।

ललितपुरबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ, गाँजा, नाइट्राजेपाम र डाइक्लोमाइनसहित एक जना तथा मोरङको कानेपोखरीबाट ११ ग्राम ३ सय ६० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रहरीले अन्य स्थानबाट पनि विभिन्न प्रकारका लागूऔषधसहित व्यक्तिहरू पक्राउ गरिएको जनाएको छ। पक्राउ परेका सबै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार