भदौ ०४ २०८३, बिहिबार

बाघदेखि जलविहारसम्म : पर्यटक बोलाउँदै बाँके निकुञ्ज

बाघको बासस्थानदेखि सफारीसम्म : पर्यटकको पर्खाइमा बाँके राष्ट्रिय निकुञ्ज

नेपालगन्ज । बाँकेलाई पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जलाई ‘ब्रान्डिङ’ गरेर व्यापक प्रचारप्रसार गरिने भएको छ। प्राकृतिक सौन्दर्य, जैविक विविधता र वन्यजन्तुको आकर्षण बोकेको निकुञ्जलाई जिल्लाको पर्यटन विकाससँग जोड्ने तयारी अघि बढाइएको हो।

नेपालगन्ज उपमहानगरपालिकासहित बाँकेका आठवटै स्थानीय तह तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी निकुञ्जको प्रचारप्रसारलाई तीव्रता दिने योजना बनाइएको छ।

बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार कोहलपुरमा भएको सरोकारवाला निकायको समन्वयात्मक बैठकले निकुञ्जलाई पर्यटकमाझ चिनाउन विभिन्न रणनीति तय गरेको छ। डुडुवा नाका, राँझा चोक, नेपालगन्ज विमानस्थल र कोहलपुर चौराहमा ठूला होर्डिङ बोर्ड तथा सूचना बोर्ड राखिने भएका छन्।

निकुञ्जको प्रवेशद्वारदेखि आसपासका प्रमुख बजार र पर्यटकीय आवागमन हुने क्षेत्रसम्म निकुञ्जको पहिचान र आकर्षण झल्किने सामग्री राखेर पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखिएको छ।

सफारीका लागि तयार हुँदै निकुञ्ज

May be an image of blueprint and text

बाँके राष्ट्रिय निकुञ्ज अब संरक्षणको क्षेत्र मात्रै नभई पर्यटनको महत्वपूर्ण गन्तव्य बन्ने तयारीमा छ। निकुञ्जभित्र पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माण भइसकेकाले सफारीका लागि आफूहरू तयार अवस्थामा रहेको वरिष्ठ संरक्षण अधिकृत कँडेल बताउँछन्।

उनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा पछिल्लो आर्थिक वर्षमा निकुञ्जमा सफारी गर्ने पर्यटकको संख्या तेब्बरभन्दा बढी पुगेको छ। पर्यटकको आकर्षण बढ्दै गएपछि निकुञ्जमा उपलब्ध सुविधा र पूर्वाधारलाई थप व्यवस्थित गर्ने काम पनि भइरहेको छ।

निकुञ्जमा पर्याप्त घाँसेमैदान, कृत्रिम ताल, मचान तथा वनपथ निर्माण गरिएका छन्। यस्ता संरचनाले वन्यजन्तु अवलोकन तथा जंगल सफारीलाई थप सहज र आकर्षक बनाउने अपेक्षा गरिएको छ।

बाघ हेर्नेदेखि राप्तीमा जलविहारसम्म

बाँके राष्ट्रिय निकुञ्जको प्रमुख आकर्षणमध्ये पाटेबाघको बासस्थान पनि हो। बाघसँगै विभिन्न प्रजातिका वन्यजन्तु तथा चराचुरुङ्गीको अवलोकन गर्न सकिने भएकाले निकुञ्जलाई वन्यजन्तु पर्यटनको सम्भावनायुक्त गन्तव्यका रूपमा हेरिएको छ।

निकुञ्जमा पर्यटकका लागि पैदल यात्रा, जंगल सफारी, हात्ती सफारी, होमस्टेमा बसाइ तथा राप्ती नदीमा जलविहारजस्ता गतिविधिको व्यवस्था छ।

निकुञ्ज आसपासका क्षेत्रमा सञ्चालित होमस्टेले पनि पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्। गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीका अनुसार निकुञ्ज घुम्न आउने पर्यटकलाई लक्षित गरी नेपालगन्ज र कोहलपुरमा होटल तथा निकुञ्ज आसपासका क्षेत्रमा होमस्टे सञ्चालनमा छन्।

यसले पर्यटकलाई निकुञ्ज अवलोकनसँगै स्थानीय संस्कृति, खानपान र जीवनशैलीको अनुभव गर्ने अवसरसमेत दिएको छ।

संरक्षणसँगै स्थानीय अर्थतन्त्र

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य निकुञ्ज संरक्षण र पर्यटन प्रवर्द्धनलाई स्थानीय विकाससँग जोडेर अघि बढाउनुपर्ने बताउँछन्।

उनका अनुसार निकुञ्जसँग जोडिएका स्थानीय समुदायले पर्यटनबाट प्रत्यक्ष तथा अप्रत्यक्ष लाभ लिन सक्ने वातावरण बनाउन आवश्यक छ। त्यसका लागि नगरपालिका र निकुञ्ज कार्यालयबीचको सहकार्यलाई अझ प्रभावकारी बनाइनेछ।

पर्यटकको आवागमन बढ्दा होटल, होमस्टे, यातायात, स्थानीय उत्पादन तथा रोजगारीका अवसर विस्तार हुने भएकाले निकुञ्ज पर्यटनले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

संरक्षणको इतिहास, पर्यटनको नयाँ सम्भावना

पाटेबाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज नेपालको संरक्षण अभियानको महत्वपूर्ण हिस्सा हो।

निकुञ्ज संरक्षणमा कार्यालयसँगै जेडएसएल, इन्रुडेक, सामुदायिक वन उपभोक्ता महासंघलगायत विभिन्न संघसंस्था सक्रिय छन्।

अब चुनौती भनेको संरक्षणको उपलब्धिलाई पर्यटनको अवसरमा बदल्नु हो। त्यसका लागि पूर्वाधार मात्रै पर्याप्त हुँदैन; प्रभावकारी प्रचारप्रसार, सहज पहुँच, सुरक्षित पर्यटन वातावरण र स्थानीय समुदायको सहभागिता पनि उत्तिकै आवश्यक हुन्छ।

बाँके राष्ट्रिय निकुञ्जलाई व्यवस्थित रूपमा ‘ब्रान्डिङ’ गर्न सकिएमा नेपालगन्ज र कोहलपुर हुँदै पश्चिम नेपालको पर्यटन नक्सामा बाँकेले नयाँ पहिचान बनाउन सक्ने सम्भावना छ।

वन्यजन्तु, जंगल, नदी, होमस्टे र स्थानीय संस्कृतिलाई एउटै पर्यटकीय प्याकेजमा जोड्न सके बाँके राष्ट्रिय निकुञ्ज केवल घुम्ने ठाउँ मात्र नभई प्रकृति, साहसिक अनुभव र स्थानीय जीवनशैलीको संगम भएको नयाँ पर्यटकीय गन्तव्य बन्न सक्छ।

अब निकुञ्ज पर्यटकको पर्खाइमा छ।  आवश्यक पूर्वाधार तयार छन्, सम्भावना विशाल छ, बाँकी छ त त्यसको सही प्रचार र व्यवस्थापन।

प्रतिक्रिया

सम्बन्धित समाचार