भदौ ०४ २०८३, बिहिबार

ममा शासकीय घमण्ड र सत्ताको लोभ छैन : गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफूमा शासकीय घमण्ड र सत्ताको लोभ नरहेको बताएका छन्। उनले देश र समाजका लागि सकारात्मक काम गर्न आफू प्रतिबद्ध रहेको पनि बताए।

ललितपुर महानगरपालिकाले बालकुमारीदेखि बल्खुसम्म जडान गरेको ‘स्मार्ट स्ट्रिट लाइट’को शुभारम्भ कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले आफू नागरिकको सेवामा केन्द्रित रहेको बताए।

उनले ललितपुर महानगरपालिकाले नागरिकको सेवाका लागि अघि बढाएका काम प्रशंसनीय र उदाहरणीय रहेको उल्लेख गरे। कला, संस्कृति र सभ्यताको संरक्षणमा महानगरपालिकाले खेलेको भूमिकाको समेत उनले प्रशंसा गरे।

May be an image of blueprint and text

गुरुङले ललितपुर र भक्तपुर नेपालको कला, संस्कृति तथा परम्पराको संरक्षणका दृष्टिले महत्वपूर्ण रहेको बताए। यी क्षेत्रमा पुग्दा देशको गौरव महसुस हुने उनको भनाइ थियो।

ललितपुर महानगरपालिकाले नयाँ सोच र प्रविधिको प्रयोग गरेर अघि बढाएका कामबाट गृह मन्त्रालयले समेत सिक्न सक्ने उनले बताए। यस्ता नवीन प्रयासलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बालकुमारीदेखि बल्खुसम्मको ७.९ किलोमिटर सडकखण्डमा जडान गरिएको स्मार्ट स्ट्रिट लाइटले सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताए।

महर्जनले नेपालमा स्मार्ट स्ट्रिट लाइटको अवधारणा ललितपुर महानगरपालिकाले सुरु गरेको दाबी गर्दै महानगरले प्रविधिमैत्री पूर्वाधार विकासलाई प्राथमिकता दिँदै आएको बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार
श्रावन ३१ २०८३,आइतबार