भदौ ०८ २०८३, सोमबार

शशि थरुर काठमाडौं आउँदै, ‘म किन हिन्दू’मार्फत धर्म, बहुलवाद र लोकतन्त्रबारे बहस

 

काठमाडौं । भारतीय कांग्रेसका नेता तथा चर्चित लेखक शशि थरुर आगामी बुधबार काठमाडौंमा हुने एक विशेष साहित्यिक कार्यक्रममा सहभागी हुँदैछन्। उनको चर्चित पुस्तक Why I Am a Hindu को नेपाली अनुवाद ‘म किन हिन्दू’ सार्वजनिक गर्ने क्रममा थरुरले दक्षिण एसियामा धर्म, आस्था, बहुलवाद र धर्मनिरपेक्ष लोकतन्त्रबारे विचार राख्ने भएका छन्।

नेपाल लिटरेचर फेस्टिभलको आयोजनामा हुने कार्यक्रम भदौ १० गते साँझ ५ः३० बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रज्ञा सम प्रेक्षालयमा आयोजना हुनेछ। कार्यक्रममा थरुरले दोभान राईसँग ‘दक्षिण एसियामा बहुलवाद, आस्था र धर्मनिरपेक्ष लोकतन्त्र’ विषयमा अन्तर्संवाद गर्नेछन्।

थरुरको Why I Am a Hindu सन् २०१८ मा प्रकाशित पुस्तक हो। पुस्तकमा उनले हिन्दू धर्मका दार्शनिक पक्ष, आफ्नो धार्मिक पृष्ठभूमि र व्यक्तिगत आस्थासँगै आधुनिक भारतमा हिन्दू धर्मको राजनीतिक प्रयोगबारे चर्चा गरेका छन्। पुस्तकले हिन्दू धर्मलाई बहुलतावादी र उदार परम्पराका रूपमा व्याख्या गर्दै हिन्दू धर्म र हिन्दुत्वबीचको भिन्नताबारे बहस अघि सारेको छ।

थरुरका अनुसार आफू हिन्दू हुनुको अर्थ कुनै राजनीतिक विचारधारासँग अनिवार्य रूपमा जोडिनु होइन। उनले हिन्दू धर्मभित्र रहेको विविधता, सहिष्णुता र स्वीकारको परम्परालाई आफ्नो पुस्तकको महत्वपूर्ण आधार बनाएका छन्।

उनले हिन्दू राष्ट्रवाद र भारतीय राष्ट्रवादलाई फरक अवधारणाका रूपमा व्याख्या गर्दै धर्मका आधारमा नागरिकको राष्ट्रिय पहिचान निर्धारण गर्न नहुने तर्क गरेका छन्।

‘म किन हिन्दू’ नेपालीमा आउनुलाई केवल एउटा विदेशी पुस्तकको अनुवादका रूपमा मात्र नभई नेपालमा धर्म, पहिचान र राज्यबारे चलिरहेको बहससँग जोडेर हेर्न सकिन्छ।

नेपालमा पछिल्ला वर्षहरूमा हिन्दू राष्ट्र, धर्मनिरपेक्षता र राजसंस्थाका विषयमा राजनीतिक तथा सामाजिक बहस पुनः तीव्र बनेको छ। यही पृष्ठभूमिमा हिन्दू धर्मलाई राजनीतिक नाराभन्दा बाहिर राखेर त्यसको दार्शनिक र सांस्कृतिक पक्षबारे थरुरको दृष्टिकोण नेपाली पाठकमाझ आउन लागेको हो।

विशेषगरी राजसंस्था पुनःस्थापनाको माग, हिन्दू राष्ट्रको बहस र धर्मनिरपेक्षताको पक्ष–विपक्षमा भइरहेका सार्वजनिक तर्कका बीच थरुरको काठमाडौं भ्रमणले कार्यक्रमलाई थप राजनीतिक तथा वैचारिक चासोको विषय बनाएको छ।


पुस्तकको नेपाली अनुवाद पत्रकार स्वेच्छा राउतले गरेकी हुन् भने नेपालमा यसको प्रकाशन फाइनप्रिन्टले गरेको छ। राउतले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा कानुनमा स्नातक र पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेकी छन्।

फाइनप्रिन्टका सहसंस्थापक तथा सीईओ नीरज भारीका अनुसार पुस्तकलाई परम्परागत विमोचनमा मात्र सीमित नराखी दक्षिण एसियाली सन्दर्भमा बहुलवाद, आस्था र लोकतन्त्रबारे सार्वजनिक संवाद गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।


‘म किन हिन्दू’को नेपाली संस्करण नेपाल लिटरेचर फेस्टिभल–२०२५ का अवसरमा पोखरामा सार्वजनिक गर्ने तयारी गरिएको थियो। तर थरुर स्वयं फेस्टिभलमा सहभागी हुन नसकेपछि औपचारिक विमोचन स्थगित भएको थियो।

अब थरुरकै उपस्थितिमा काठमाडौंमा पुस्तक सार्वजनिक गरिँदैछ। यसले पुस्तक विमोचनलाई लेखकसँग प्रत्यक्ष संवाद गर्ने अवसरमा समेत परिणत गरेको छ।


थरुरले आफ्नो लेखनमा हिन्दू धर्मको बहुलतावादी चरित्रलाई जोड दिँदै धार्मिक पहिचानलाई राजनीतिक वर्चस्वको माध्यम बनाउने प्रवृत्तिको आलोचना गरेका छन्। उनको तर्कमा हिन्दू धर्मको विविधता नै त्यसको शक्ति हो र धार्मिक कट्टरता बढ्दै जाँदा बहुलवादी लोकतन्त्र कमजोर हुन सक्छ।

यस दृष्टिले काठमाडौंमा हुने थरुरको अन्तर्संवाद साहित्यिक कार्यक्रम मात्र नभई दक्षिण एसियामा धर्म र राजनीतिबीचको सम्बन्धबारे वैचारिक बहसको एउटा महत्वपूर्ण मञ्च बन्ने अपेक्षा गरिएको छ।

May be an image of blueprint and text

प्रतिक्रिया

सम्बन्धित समाचार