भदौ ११ २०८३, बिहिबार

रसुवा बाढीपछि उद्धार र स्वास्थ्य टोली परिचालन, प्रहरी अस्पताल तयारी अवस्थामा

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि नेपाल प्रहरीले उद्धार, राहत तथा स्वास्थ्य सेवाका लागि ठूलो जनशक्ति र स्रोतसाधन परिचालन गरेको छ।

बाढीबाट घाइते भएकाहरूको उपचारका लागि नेपाल प्रहरी अस्पतालले चिकित्सकसहितको ९ सदस्यीय टोली रसुवातर्फ पठाएको छ। नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. छन्द बुढाथोकीको कमाण्डमा चिकित्सक टोली एम्बुलेन्स र आवश्यक स्वास्थ्य सामग्रीसहित प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको प्रहरीले जनाएको छ।

घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन नेपाल प्रहरी अस्पतालमा समेत इमर्जेन्सी र ट्रमा वार्ड तयारी अवस्थामा राखिएको छ। आवश्यक दक्ष जनशक्तिसहित चिकित्सक टोलीलाई स्ट्यान्डबाई राखिएको प्रहरीले जनाएको छ।

यसैगरी, बाढीबाट प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार गर्न नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुशीबाट आवश्यक उद्धार सामग्रीसहित प्रहरी टोली परिचालन गरिएको छ।

प्रहरीका अनुसार प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन अन्य सुरक्षा निकाय र सम्बन्धित सरोकारवाला निकायसँग समन्वय भइरहेको छ।

बाढीका कारण जोखिममा परेका नागरिकको उद्धार, सुरक्षित स्थानान्तरण तथा घाइतेको उपचारलाई प्राथमिकतामा राखेर प्रहरी परिचालन गरिएको जनाइएको छ। प्रहरीले विपद्को अवस्थामा प्रभावित क्षेत्रमा आवश्यकताअनुसार थप जनशक्ति तथा स्रोतसाधन परिचालन गर्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार