भदौ ११ २०८३, बिहिबार

विपद्को समयमा राजनीतिक दलहरू एक ठाउँमा

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रमुख राजनीतिक दलहरूले आकस्मिक बैठक बोलाएर उद्धार, राहत तथा पुनःस्थापनामा पार्टी पंक्ति परिचालन गर्ने निर्णय गरेका छन्।

बाढीबाट ठूलो जनधनको क्षति भएपछि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बुधबार आकस्मिक बैठक बोलाएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आकस्मिक सचिवालय बैठक गर्दै राहतका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई प्राथमिकता दिने निर्णय गरेको छ।

बैठकले बेपत्ता नागरिकको तत्काल खोजी, घाइतेको उपचार तथा प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ। साथै, प्रभावित जिल्लाका पार्टी नेतृत्व, भ्रातृ तथा शुभेच्छुक संस्थालाई स्थानीय विपद् व्यवस्थापन संयन्त्रसँग समन्वय गरेर राहत तथा उद्धारमा सक्रिय हुन निर्देशन दिइएको छ।

कांग्रेसले बाढी प्रभावित क्षेत्रमा समन्वय तथा सहजीकरणका लागि छुट्टै समिति गठनसमेत गरेको छ।

नेकपा एमालेले रसुवा बाढीबाट भएको क्षति, बेपत्ता व्यक्तिको खोजी तथा उद्धार र राहतका विषयमा केन्द्रीय सचिवालयको आकस्मिक बैठक बोलाएको थियो। बैठक च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको हो।

बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता, कार्यकर्ता, जनसंगठनका सदस्य तथा जनप्रतिनिधिलाई प्रभावित क्षेत्रमा तत्काल खोजी, उद्धार तथा राहतमा सक्रिय हुन निर्देशन दिएका छन्।

एमालेले स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी मानवीय सहायता पुर्‍याउन तथा विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्र परिचालन गर्न सरकारसँग माग गरेको छ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि रसुवा बाढीबाट भएको क्षति, उद्धार र राहतबारे छलफल गर्न केन्द्रीय कार्यसंयोजन समितिको आकस्मिक बैठक बोलाएको थियो।

बैठकले प्रभावित क्षेत्रमा नेता तथा कार्यकर्ता परिचालन गर्ने विषयमा निर्णय गरेको छ। नेकपा संयोजक पुष्पकमल दाहालले समेत पार्टीका सम्पूर्ण पंक्तिलाई तत्काल उद्धार, राहत तथा मानवीय सेवामा जुट्न निर्देशन दिएका छन्।

नेकपाले बेपत्ताको खोजी तथा उद्धारलाई तीव्र बनाउन तीनै तहका सरकार, सुरक्षा निकाय, राजनीतिक दल, सामाजिक संघसंस्था र नागरिक समाजलाई एकजुट भएर काम गर्न अपिल गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि बाढीको अवस्थाबारे आकस्मिक सचिवालय बैठक गर्दै बाढीपीडितका लागि सरकारको राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ।

पार्टीले राहत तथा उद्धारमा सहयोग पुर्‍याउन आफ्ना सांसद र पार्टीका तर्फबाट उक्त रकम उपलब्ध गराउने जनाएको छ।

त्यसैगरी, रास्वपा सभापति रवि लामिछानेको आह्वानमा बिहीबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सर्वदलीय बैठक बोलाइएको छ। बाढीबाट भएको क्षति, बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा साझा रणनीति बनाउन संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकमा बोलाइएको छ।

रसुवाको बाढीपछि सरकारसँगै प्रमुख राजनीतिक दलहरूले पनि आफ्ना संयन्त्र र जनशक्तिलाई उद्धार तथा राहतमा परिचालन गर्न थालेका छन्।

बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो क्षति पुर्‍याएपछि तत्कालीन प्राथमिकता उद्धार, बेपत्ताको खोजी, घाइतेको उपचार र प्रभावितको सुरक्षित स्थानान्तरणमा केन्द्रित भएको छ।

विपद्को समयमा राजनीतिक प्रतिस्पर्धाभन्दा मानवीय उद्धार र राहतलाई प्राथमिकता दिनुपर्ने सन्देश दिँदै प्रमुख दलहरूले आफ्ना नेता–कार्यकर्तालाई प्रभावित क्षेत्रमा खटिन निर्देशन दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार