भदौ १३ २०८३, शनिबार

रसुवा बाढीपछि खोज, उद्धार र राहतबारे सरकारी निकायबीच छलफल

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार, राहत र प्रभावितको व्यवस्थापनलाई प्रभावकारी बनाउन संघीय सरकारका विषयगत मन्त्रालय तथा सहयोगी निकायबीच छलफल भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीको अध्यक्षतामा भएको बैठकमा खोज तथा उद्धार, राहत वितरण, खानेपानी, अस्थायी आश्रय, शवको खोजी तथा व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको हो।

बैठकमा सम्बन्धित मन्त्रालयअन्तर्गतका निकाय तथा सहयोगी संस्थाका अधिकारीहरूको सहभागिता रहेको थियो। विपद्पछिको तत्कालीन आवश्यकता पहिचान गरी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका कामलाई थप व्यवस्थित बनाउने विषयमा छलफल केन्द्रित थियो।

छलफलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव सहभागी थिए। प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीको पनि बैठकमा उपस्थिति रहेको थियो।

रसुवाको भोटेकोशी–ल्हेन्दे क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी छ। बाढीका कारण विस्थापित भएका नागरिकका लागि अस्थायी आश्रय, खानेपानी तथा खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।

सरकारी निकाय तथा सहयोगी संस्थाबीचको समन्वयलाई प्रभावकारी बनाउँदै प्रभावित क्षेत्रमा तत्काल राहत पुर्‍याउने र बेपत्ता तथा मृतकको खोजी तथा व्यवस्थापनलाई प्राथमिकतामा राख्ने विषयमा बैठकले जोड दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार