भदौ १६ २०८३, मंगलबार

पूर्वराजा ज्ञानेन्द्रद्वारा बाढीपीडितको उद्धार र राहतमा तीव्रता दिन सरकारलाई आग्रह

काठमाडौं, भदौ १५ - पूर्वराजा ज्ञानेन्द्र शाहले तिब्बतमा हिमताल फुटेर आएको बाढीका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरेका छन्।

पूर्वराजा शाहले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीका विभिन्न क्षेत्र प्रभावित भएको उल्लेख गर्दै भौतिक संरचनामा ठूलो क्षति पुगेको बताएका छन्।

विपत्तिमा परेकाहरूको उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्। विपद्को समयमा राज्यका निकाय, स्थानीय तह, सुरक्षा संयन्त्र तथा नागरिक समाजबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ छ।

पूर्वराजा शाहले भविष्यमा यस्ता प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि नेपाल, भारत र चीनबीचको त्रिदेशीय संयुक्त प्रयास प्रभावकारी हुनसक्ने धारणा समेत व्यक्त गरेका छन्।

उनले बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित सबैप्रति सहानुभूति व्यक्त गर्दै उद्धार, राहत र पुनःस्थापनाका कार्यमा आवश्यक गम्भीरता र सक्रियता देखाउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार